पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष बन्नकै लागि आफू नेकपा एमालेको राजनीतिमा फर्किएको बताएकी छन्।
पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा उनले प्रस्टसँग आफू एमालेको नेतृत्व गर्नकै लागि सक्रिय राजनीतिमा आएको बताएकी हुन्।
पत्रकार खरेल भन्छन्, ‘मैले के बुझेँ भने विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किनु भनेको अब पार्टीलाई नेतृत्व दिनका लागि हो, अध्यक्षका रूपमा?’
जवाफमा भण्डारी भन्छिन्, ‘एकदम, त्यसमा त कुनै सन्देह छ र?’
संवादको छोटो अंश:
भण्डारी: नेकपा एमालेका अध्यक्षज्यूले के भन्नुभयो, त्यो अपुष्ट समाचार सुनेर मैले त्यसमा धारणा व्यक्त गर्नु उपयुक्त होलाजस्तो लाग्दैन। किनभने म उहाँसँग पनि नियमित संवादमा छु।
खरेल: के भन्नुभाछ त संवादमा उहाँले, आउनूस् भन्नुभो तपाईंलाई?
भण्डारी: उहाँले त्यस्तो नकारात्मक कुरा मसँग गर्नुभाछैन। मैले आफ्नो कुरा राखेँ, उहाँले त्यसालाई सकारात्मक रूपमै हार्दिक रूपमै लेको भन्ने मैले बुझेको छु। तर पदीय जिम्मेवारीहरू के कसो भन्ने कुरामा विस्तृत रूपमा कुराकानी भाको छैन। र, उहाँलाई मैले तत्काल मात्रै चिनेको हैन। उहाँसँग मेरो लामो सहकार्य पनि छ। त्यसैले उहाँले बाहिर कोसँग के भन्नुभयो भन्ने आधारमा मैले धारणा बनाउने वा व्यक्त गर्न मिल्दैन। मैले पार्टी सदस्यता नवीकरण गर्दै छु भन्दा उहाँले स्वागत छ भन्नुभयो।
खरेल: अब एमालेभित्र के गर्नुहुन्छ?
भण्डारी: त्यो त अहिले मैले भन्न मिलेन, पार्टीले के जिम्मेवारी दिन्छ? र, त्यो दिएको जिम्मेवारी मेरो अनुकूल हुन्छ, हुँदैन? त्यसको आधारमा हुन्छ।...
खरेल: तपाईंले भनेका सबै कुरा गर्न त तपाईं नेकपा एमालेको अध्यक्ष बन्नुपर्ने हुन्छ, त्यो नबनीकन कार्यकर्ता भएर तपाईंले परिवर्तन ल्याउने भए त तपाईं उपाध्यक्ष भइसक्नुभाथ्यो? तपाईं फेरि राजनीतिमा आउने भनेको मतलब अब नेकपा एमालेको नेतृत्वमा म आउनुपर्छ भन्ने बुझाइ नै त होला? भनेपछि अब तपाईंको लक्ष्य- अध्यक्षका रूपमा पार्टीलाई हाँक्ने हो?
भण्डारी: तपाईंले भनेको कुरामा सत्यता छ तर पार्टीको ११औँ महाधिवेशन तोकिएको छैन, त्यसैले मैले अहिले नै म कुन पद के भनेर नभनौँ।
खरेल: तर तपाईंको लक्ष्य पार्टी अध्यक्ष हो?
भण्डारी: (एकछिन हाँसेर) यो कुरा त सार्वजनिक बहसकै एजेन्डा भइसक्यो।
खरेल: तपाईंको चाहना र लक्ष्य पार्टी अध्यक्ष हो?
भण्डारी: हैन, अब पार्टीमा यो अनुभव, यति समय लिएर आइसकेपछि मैले जिम्मेवारी लिने भनेको त तपाईंहरूले सोचेको लाइनतिरै जान्छ।
पार्टी अध्यक्ष नै?
भण्डारी: (एकछिन बोल्दिनन्)
खरेल: किन हिचकिचाउनु भो नि? हो भनेर दृढताका साथ किन नभनेको?
खित्का छाडेर हाँस्छिन्। हँसाउनु भो तपाईंले। मलाई हिचकिच भन्ने त्यस्तो केही होइन तर समय आउनुपर्यो नि, प्रतीक्षा गर्नुस् न।
खरेल: मैले के बुझेँ भने विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किनु भनेको अब पार्टीलाई नेतृत्व दिनका लागि हो, अध्यक्षका रूपमा?
भण्डारी: एकदम, त्यसमा त कुनै सन्देह छ र?
Shares

प्रतिक्रिया