गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका थप एक जना कारागार चलान भएका छन्। बुधबार बालकृष्ण वाग्लेको इजलासले सतीष न्यौपानेलाई पुर्वपक्षका लागि कारागार चलानको आदेश गरेको हो। उनलाई डिल्ली बजार कारागार लगिएको छ।
त्यस्तै उक्त प्रदर्शनमै सहभागी विनञ्जय थापा र राजेन्द्र जिसीलाई जनही १५ हजार धरौटीमा छाेड्न पनि अदालतले आदेश दिएको छ।
यसअघि तीनकुने घटनामा पुर्पक्षका लागि ७ जना कारागार चलान भइसकेका छन्। हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो।
अन्य ३२ जना प्रतिवादी भने १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटीमा रिहा भएका थिए। हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटी लिएर रिहा भएका हुन्।
यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रुपैयाँका दरले धरौटी तोकिएको थियो।
गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रुपैयाँका दरले धरौटी तोकिएको थियो। बाँकी १६ जनालाई १० हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश गरेको थियो।
पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटालाई १० हजारका दरले धरौटी माग गरिएको थियो।
उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो। दुर्गा प्रसाईँसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा लागेको छ।
Shares

प्रतिक्रिया