राजनीति


‘संसद्‍मा म’मा माधव सापकोटा : अग्नि सापकोटाले नयाँ पुस्तालाई हस्तान्तरण गर्दा मैले टिकट पाएँ (भिडिओ)

‘गाउँ जाऊँ, संसद् छुट्छ, संसद् बसौँ, गाउँ छुट्छ’

नेपालखबर
असार २४ , काठमाडौँ

नाताले पूर्वसभामुख अग्निप्रसाद सापकोटाको भतिज भएर होला, सानैदेखि माधव सापकोटामा काकाकै प्रभाव पर्‍यो। कम्युनिस्ट आन्दोलन र विचारबाटै निर्देशित भए। जनयुद्धकै रापतापका बीच उनको राजनीतिक जीवन प्रारम्भ भयो। 

त्यतिबेला उनी एसएलसी दिने भनेर टेस्ट पास गरेर बसेको थिए। अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको उपाध्यक्ष भइसकेका थिए। एसएलसी दिन तीन–चार दिन मात्रै बाँकी थियो, उनी र अग्नि सापकोटाका छोरा रूपकलाई पक्राउ गर्न प्रहरी घरमै आएको सूचना आएपछि दुवै भाग्न सफल भए। त्यसपछि पार्टी सम्पर्कमा गएर भूमिगत आन्दोलनमा होमिए। 

सिन्धुपाल्चोकमा तीनपटक विद्यार्थीको अध्यक्ष भए। त्यसपछि केन्द्रीय समिति हुँदै केन्द्रीय सचिवालयको सदस्यसम्म भए। भूमिगत रूपमा सिन्धुपाल्चोकको पार्टी प्रमुखसम्म भए। जनमुक्ति सेनाको चाहिँ बटालियन कमिसारसम्मको जिम्मेवारी पूरा गरे। 

युद्धका क्रममा उनी दुईपटक गम्भीर घाइते नै भए। अहिले पनि उनी शरीरमा त्यतिबेला खाएको गोली बोकेर हिँडिरहेका छन्। 

‘म युद्धमा दुई पटक गम्भीर रूपमा घाइते भएँ,’ नेपालखबर ‘संसदमा म’मा आफ्नो राजनीतिक तथा संसदीय अनुभूति सुनाउने क्रममा उनी सम्झन्छन्, ‘२०६५ सालको वैशाख २६ गते सिरहा बन्दीपुरको ब्यारेक कब्जा गर्ने बेलामा निकै गम्भीर घाइते भएँ। पछि पार्टीले डाक्टरहरू झिकाएर उपचार गरेपछि ठिक भयो।’

त्यसपछि ०६२ सालको वैशाख ९ गते। चौतारामा अन्तिम लडाइँ लड्ने क्रममा माओवादीले सेनाको ब्यारेक, प्रशासन सबैतिर हमला गर्दा त्यहाँ पनि उनी एकदमै गम्भीर घाइते भए। त्यतिबेलाको एउटा अनौठो कहानी छ, जुन आज पनि सापकोटाको मस्तिष्कमा ताजै छ। 

‘मलाई नेपाल प्रहरीकै एकजना चिनेको मित्रले धुलिखेल हस्पिटलमा प्रहरी जवानको रूपमा अर्कै नाम राखेर ट्रिटमेन्ट गराएका थिए,’ उनी सम्झन्छन्, ‘पछि मलाई त्यहाँबाट रिफर गरिएपछि प्रहरीकै गाडीमा बीएन्डबी हस्पिटलमा ल्याइयो। झन्डै तीन महिना त्यहाँ उपचार भयो। त्यसपछि झन्डै ६–८ महिना आराम गरेपछि म सिन्धुपाल्चोकको पार्टी सचिव भएर राजनीतिमा सक्रिय भएँ।’

त्यसयता माधव सापकोटा लगातार भूगोलको राजनीतिसँग जोडिएका छन्। उनले जीवनमा दुईपटक चुनाव लडेका छन्। पहिलोपटक ०७१ सालमा, पार्टीको जिल्ला अध्यक्षका लागि लडे। त्यसपछि एकैपटक ०७९ सालमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभाको निर्वाचन लडेका उनी यतिखेर संसदमा खरो सांसदका रूपमा परिचित छन्। 

उनी चुनाव लडेको क्षेत्रबाट सधैँ काका अग्नि सापकोटाले जित्दै आएका थिए। पूर्वसभामुख समेत रहेका अग्नि सापकोटाको क्षेत्रबाट भतिज माधवले चुनाव लड्ने कुरा राजनीतिक वृत्तमा कम्ती चर्चाको विषय भएन। सर्वत्र प्रश्न उठ्यो– अग्नि सापकोटाले किन छाडे र माधवले टिकट कसरी पाए? 

कतिपयलाई लाग्यो– कतै काका–भतिजको सम्बन्धमा दरार पो आयो कि?

तर, माधवका अनुसार यथार्थ बाहिर अनुमान भएजस्तो थिएन। 

‘कमरेड अग्नि सापकोटाले एकदमै सुविचारित तरिकाले नयाँ पुस्तालाई हास्तान्तरण गर्ने भनेपछि मैले टिकट पाएको हुँ। उहाँले म उठ्छु भनेको भए हामीले जति नै प्रयत्न गरे पनि हुने कुरा केही थिएन,’ माधव प्रष्ट पार्छन्। 

माधवलाई सांसद हुनुअघि टिकट नपाउँदासम्म टिकट पाउनेतिर नै ध्यान थियो। टिकट पाएपछि जित्ने चुनौती। सांसद भएपछि विजय र्‍याली, मतदाता भेटघाटमा व्यस्त। त्यसपछि मात्रै संसदतिर ध्यान भयो। 

‘सायद यो सबै सांसदको बाध्यता हो,’ उनले भने, ‘सांसद भएपछि सबैभन्दा पहिले मैले नेपालको संविधानलाई सरसर्ती पढेँ। सांसदकै नजरबाट संविधान पढ्दा कस्तो पाइन्छ भनेर फेरि एकपटक पढेँ। त्यसभन्दा अगाडिका प्रतिनिधि सभाको नियमावलीहरू पढेँ। अनि नेपालभित्र र बाहिरका संसदीय अभ्यासहरू युट्युबमा हेरेँ। यति गरेपछि मेरो संसदीय यात्रा सुरु भयो।’

माधवको अनुभवमा हाम्रो संसदको कमजोर पक्ष सांसदहरूलाई राम्रोसँग तालिम नदिनु हो।  

‘जतिसुकै राजनीतिका गफ गरेपनि प्रक्रियागत, कानुनी, नियम, नियमावली, संविधानको अधीनमा रहेर बहस गर्ने, विषयहरूको उत्पादन गर्ने, खोज गर्ने, अनुसन्धान गर्ने, तर्कवितर्क गर्ने भन्ने कुरा त अभ्यास, तालिमबिना सकिँदैन,’ माधव भन्छन्, ‘हामीलाई संसद् सचिवालयले जम्मा एकपटक अभिमुखीकरण भनेर एउटा झोला, एउटा पेनड्राइभ, एउटा डायरी वितरण गरेको थियो। त्यो पनि शपथ लिएको एक हप्तापछाडि। नत्र भने त्यसपछि एकपटक पनि सांसदहरूलाई राज्यका तर्फबाट व्यवस्थित र योजनाबद्ध तालिम हुँदो रहेनछ।’

संसदमा बोल्न नपाउनु सांसदको अर्को ठूलो दुःख हो। 

‘बाहिरबाट हेरेको जस्तो संसदमा समय पाउन, बोल्न सहज छैन,’ माधव भन्छन्, ‘यसका लागि विषय, समय, जम्मै घटनाक्रम मिल्नुपर्छ। बाहिरबाट हेरे जस्तो टक्क छैन। अर्को कुरा, संसदमा बहस मज्जाको हुन्छ तर व्यक्तिगत सम्बन्ध झगडिया जस्तो देखिन्छ, तर त्यो त्यहीँ सीमित हुन्छ, बाहिर निस्केपछि त्यस्तो झगडिया चाहिँ भइँदैन।’

माधवको अनुभवमा नेपालका सांसदलाई जनसम्पर्क बचाइराख्न बहुत मुस्किल छ। चुनाव प्रचार अभियानमा हिँड्दाखेरि सबभन्दा धेरै गुनासो सहित आउने प्रश्न हो– जितेर गएपछि गाउँ आउँछस् कि आउँदैनस्? 

‘मेरो मात्रैमा होइन कि देशैभरि त्यस्तै रहेछ,’ माधव भन्छन्, ‘हाम्रो वर्षभरिको संसदीय क्यालेन्डर छैन। क्यालेन्डर नभएपछि कुन दिन समितिको सभापतिले बैठक राख्दिने हो, कुन दिन हाउस राख्दिने हो, थाहा हुँदैन। गाउँ जाऊँ, संसद् छुट्दो रहेछ, संसद् बसौँ, गाउँ छुट्दो रहेछ। त्यसको तालमेल मिलाउन निकै मुस्किल काम रहेछ। मैले त अहिले आराम र निद्रा चाहिँ धेरैजस्तो गाडीमै पुर्‍याउने गरेको छु।’

निर्वाचन क्षेत्रका जनताले सांसदलाई विधायिकाका रूपमा कम, विकास निर्माण र आफ्ना दैनिक सरोकारका विषयहरूमा सहजीकरण गर्ने सहजकर्ताका रूपमा बढी अपेक्षा राख्छन्। यो माधवले राम्रोसँग अनुभूत गरेका छन्। अब उनी आफ्नो निर्वाचन क्षेत्रमै नमुना संसद् चलाउने तयारीमा छन्। 

‘अब तल गाउँमै नमुना संसद् चलाउने हो,’ उनले भने, ‘काठमाडौँसम्म गाडीमा आउन सक्नेले यतै आएर हेर्छन्। नसक्ने दुर्गम, टाढाकालाई के गर्ने त भन्दा अरु माननीयहरू पनि एक–दुईजना लैजाने, उस्तै पर्दा सभामुखको छुट्टी भएको दिन सभामुखै लिएर जाने, उपसभामुख नै लैजाने, सभापतिहरू लैजाने, पूर्व सांसदहरू, पूर्वसभामुखहरू लैजाने र पालिका स्तरमा, स्कुलको स्तरमा नमुना संसदको अभ्यास चलाउने। त्यसो गर्दा हाम्रो देशको संसद् यसरी चल्छ, भोलि तपाईंहरू नै सांसद हुनुभयो भने यसरी चल्न सक्नुहुन्छ भनेर बुझाउने र सिकाउने हो।’

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः

फोटो/भिडिओः सरोज नेपाल

असार २३, २०८२ सोमबार २०:१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad