ad ad

राजनीति


पूर्वमन्त्री गोकुल बाँस्कोटाद्वारा पीपीईसहित स्वास्थ्य सामग्री वितरण

पूर्वमन्त्री गोकुल बाँस्कोटाद्वारा पीपीईसहित स्वास्थ्य सामग्री वितरण

नेपालखबर
चैत २९, २०७६ शनिबार ७:३३,

कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन्।

बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्। उनले १९५ पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य जेनिस लामाले जानकारी दिए। उनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पीपीईको निकै अभाव थियो।

बाँस्कोटाले यसअघि ६ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराएका थिए। उनीद्वारा जिल्लामा उपलब्ध स्वास्थ्य सामग्री नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रेपलाञ्चोकले स्थानीय तहका जनप्रतिनिधिलाई क्रमशः उपलब्ध गराइरहेका छन्। ‘हामी दोस्रो चरणमा स्थानीय तहको आवश्यकतानुसार स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेका छौँ’, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने। उनका अनुसार पाँच स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण भइसकेका छन्।

अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पीपीई महत्वपूर्ण रहेकाले प्राप्त पीपीईले निकै ठूलो मद्दत पुगेको धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए। ‘अब स्वास्थ्यकर्मी निर्धक्क उपचारमा लाग्नेछन्, बाँस्कोटाप्रति आभारी छु’, उनले भने। धुलिखेल नपामा ७५ पीपीई, ७५ स्यानिटाइजर र ७०० मास्क वितरण भएको छ।

पूर्वमन्त्री बाँस्कोटाले हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको दोस्रो चरणअन्तर्गत वितरण गरिएको बताए। उनले भने, ‘पहिला स्वास्थ्य सामग्री त्यसपछि जिल्लामा आवश्यकतानुसार चरणबद्ध राहत उपलब्ध गराउँछु, कोरोना संक्रमणको जोखिम अन्त्य नभएसम्म राहतको क्रम निरन्तर चलिरहन्छ।’ उनले लकडाउनमा धादिङमा फसेका काभ्रेपलाञ्चोकका ३४ मजदुरलाई चैत दोस्रो साता स्वास्थ्य जाँच गरी घर फर्काएका थिए।

काभ्रेपलाञ्चोकका अर्का प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङले पनि रहातको पहिलो प्याकेज जनाउँदै यसै साता खानीखोला गाउँपालिकमा ८००, पनौती नपामा ६०० र बेथानचोक गाउँपालिकामा २०० मास्क वितरण गरी थप राहत संकलनमा लागेका छन्। ‘हाल राहत संकलनमा छौँ, त्यसपछि वितरणमा लाग्नेछौँ’, दोङले भने।

यसैबीच एक महिनाको पारिश्रमिक बागमती प्रदेश सरकारको खातामा जम्मा गरेका बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले आफ्नो निर्वाचन क्षेत्रमा थप दुई महिनाको पारिश्रमिक दिएकी छन्। उनले तीन नगर बनेपा, पनौती र मण्डनदेउपुर तथा बेथानचोक गाउँपालिकलाई रु २५ हजारका दरले राहत उपलब्ध गराएकी हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .