नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकाबारे समीक्षा गर्ने बेला भएको बताएका छन्। जारी केन्द्रीय समितिको बैठकअन्तर्गत आइतबार सिटौलाले संवैधानिक नियुक्तिसम्बन्धि फैसलाको प्रसंग निकाल्दै यस्तो बताएका हुन्।
'संवैधानिक निकायमा ५२ जनाको नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता भएकोमा अहिले आएर फैसला भयो, त्यो पनि प्रधान न्यायाधीश अल्पमतमा। प्रधान न्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुन्छ भनेर संविधानमा लेखिएको छ। अनि यो मुद्दामा बहुमत र अल्पमतका कुरा आए,’ उनले भने, 'तलदेखि माथिसम्म जिल्ला, उच्च, विशेष, सर्वोच्च अदालतका बारेमा समीक्षा गर्ने बेला आयो।'
त्यस्तै सिटौलाले कर्मचारीलाई मात्रै क्षमतावान् देख्दा देश बिग्रिएको बताए।
उनले थपे, 'क्षमता खाली कर्मचारीमा मात्रै किन देख्छौँ हामीले? हाम्रै पार्टीमा यति धेरै पढेलेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियर अरू थुप्रै विषयका साथीहरू हुनुहुन्छ तर हामीले त्यो विषय खोज्दैनौँ। ठ्याक्कै कर्मचारी भेटिहाल्छौँ। कर्मचारी भएपछि अरू नखोज्ने हाम्रो प्रवृत्ति भयो। कर्मचारीले नै काम बिगारेको छ।’
कुनै भिजन र योजना नभएको व्यक्तिले प्रशासन चलाइरहेको भन्दै उनले गुनासो गरे। निजामती कर्मचारीको विधेयकमा भएको झमेलाबारे पनि उनले पार्टीले ध्यान दिनुपर्ने बताए।
‘निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन/लाइन हेर्ने काम भएको छैन। ठूलो लापरबाही भएको छ। कर्मचारीमाथि अत्यन्त ठुलो ट्रस्ट भएको छ,' उनले भने, 'अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधारचाहिँ के त अब?’
त्यस्तै उनले पार्टीलाई रुपान्तरणसहित अघि बढाउन नवीकरण, क्रियाशील सदस्यताको विषयलाई धेरै लम्ब्याउन नहुने पनि बताए।
Shares

प्रतिक्रिया