नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतीमा गौतमले भ्रातृ संस्थालाई व्यवस्थित बनाउन नसक्दा सिंगो पार्टी नै कमजोर भएको बताएकी छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा गौतमले युवालाई पार्टीले काम दिन नसकेको गुनासो गरेकी हुन्।
'भ्रातृ संगठन नेविसंघ, महिलासंघहरू आवधिक अधिवेशन गर्न नसक्दा पार्टी कमजोर बन्यो। युवा विद्यार्थीलाई पार्टीले काम दिन सकेन। समयमै अधिवेशन नगर्दा म्याद मात्रै थप्दै जाने अनि उमेरहदको बेवास्ता गर्ने गर्दा विद्यार्थीलाई मार परेको छ,' उनले भनिन्, 'विधि प्रक्रिया, अधिकारलाई नाघेर गरिएको निर्णयहरू खारेजी गर्नु पर्यो।विधिसम्मत कार्य गर्न लगाउनुपर्यो।'
उनले पार्टी र जनप्रतिनिधिको भूमिका कमजोर भएको भन्दै यसलाई सुधार गर्न पार्टीको मूल नेतृत्वको ध्यानाकर्षण गराइन्।
'वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकाप्रति साथीहरू सन्तुष्ट हुन सकेका छैनन्। बजेटका विषयमा सरकारमा रहेका सबै मन्त्रीहरूले प्रश्न उठाएका छन्,' उनले भने, 'बजेट समानुपातिक वितरण भएन। लुटको धन फुपूको श्राद्ध भनेझैँ आफ्नै क्षेत्रभित्र मात्रै लैजानुपर्ने? यो भएन। अब पार्टीले वैज्ञानिक ढंगबाट बजेट विवतरण प्रणालीको विधि बनाउन लगाउनुपर्छ। मन्त्रीसँग बजेट माग्नुपर्ने मगन्ते प्रवृत्ति अन्त्य गर्न जरुरी छ।'
जारी बैठकमा एक नेताले अर्कोलाई हिलो छ्याप्ने काम गरेर गलत गरिएको र यसलाई तत्काल बन्द गर्नुपर्ने गौतमको भनाइ छ।
'यो बैठक हाम्रो यो कोठाभित्र मात्रै रहेका मानिसबीच सिमित रहन्न। यसलाई देश दुनियाँले नियाली रहेको छ। यहाँ एउटाले अर्को लाई हिलो छ्याप्ने काम बन्द गरौँ,' उनले थपिन्, 'आफूले गरेको काम, निर्णयको जिम्मेवारी आफैँले लिने हो। काम आफू गर्ने अनि दोष अर्कालाई थुपार्नुको कुनै तुक छैन। नेतादेखि कार्यकर्ता सबै जिम्मेवार हुन जरुरी छ।'
उनले सामाजिक सञ्जालमा जिम्मेवारीमै बसेका नेताहरू आरोपप्रत्यारोपमा लाग्दा पार्टीलाई क्षति भइरहेको बताइन्।
त्यस्तै गौतमले पार्टीले सञ्चालन गरेको १०० दिने अभियान प्रभावकारी भएको बताइन्। यस्ता कार्यक्रमले संगठनलाई जीवन्त र सक्रिय बनाउने उनको भनाइ छ।
उनले बीपी राजमार्गसहित देशका मुख्य राजमार्ग बाढी पहिरोले तहसनहस भएको विषयमा पनि पार्टीमार्फत सरकारको ध्यानार्षण गराइन्।
Shares

प्रतिक्रिया