राजनीति


रामकुमारीले किन भनिन्– मलाई स्पष्टीकरण मागिएकै छैन

चाँडै निर्णय गर्ने अनुशासन आयोगको तयारी, कारबाहीको त्रासमा झाँक्री
रामकुमारीले किन भनिन्– मलाई स्पष्टीकरण मागिएकै छैन

फाइल तस्बिर: रामकुमारी झाँक्री र माधवकुमार नेपाल


सागर न्यौपाने
असार २०, २०८२ शुक्रबार ९:४३, काठमाडौँ

जेठ २६ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा  दायर गर्‍यो।

जसमा असार ११ गते बयान दिन पुगेका नेपालसँग विशेष अदालतले ३५ लाख धरौटी माग्यो र उनले त्यही दिन बुझाए। मुद्दा अदालतमा विचाराधीन छ। फैसला आइसकेको छैन। कस्तो आउँछ, थाहा छैन। 

तर यो मुद्दाले अभियुक्त नेपाल स्वयंलाई त्यति तनाव भएको छैन होला, जति एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीलाई भएको छ।

किनकि यो कुरा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीकै प्रदेशस्तरीय कार्यक्रममा पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ अभिव्यक्ति दिएबाट सहजै अनुमान गर्न सकिन्छ। उनले यति मात्र होइन, ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत भनिन्।

जसका कारण उनलाई पार्टीको अनुशासन आयोगले लिखित स्पष्टीकरण नै माग्यो।

तर झाँक्रीलाई असार १६ गते नै पत्र पठाएर ३ दिनभित्र स्पष्टीकरण दिन भनिए पनि यो कुरा नेताहरूले त्यो समयसीमा सकिएको दिन असार १८ गते मात्र सार्वजनिक गरे। त्यतिन्जेल न उनलाई के सोधिएको थियो भन्ने कुरा जानकारी दिइयो न स्पष्टीकरण लिइयो वा लिइएन भनेरै खुलाइयो। 

यद्यपि एकीकृत समाजवादीका पदाधिकारी उनीसँग स्पष्टीकरण लिइएको दाबी गर्छन्। 

तर स्थायी कमिटी सदस्य झाँक्रीले ‘अल्टिमेटम’ सकिएको भोलिपल्ट असार १९ गते अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै पार्टी कार्यालयमा पत्र पठाइन् र त्यसमा आफूलाई कुनै स्पष्टीकरण नमागिएको दाबी गरिन्।

‘मैले अध्यक्षलाई सम्बोधन गरेर तीन/तीनजना नेतालाई बोधार्थ दिएर मेरो भनाइ पार्टी कार्यालयमा बुझाएको छु, मेरो आधिकारिक भनाइ त्यही हो’, झाँक्रीले भनिन्।

झाँक्रीको भनाइ विश्वास गर्ने हो भने पार्टीले उनलाई स्पष्टीकरण मागेकै छैन। 

तर एकीकृत समाजवादीका एक नेता अनुशासन आयोगले झाँक्रीको घरमै पुगेर स्पष्टीकरण दिन भनिएको पत्र बुझाएको दाबी गर्छन्। 

‘झाँक्रीजीले छोरालाई पत्र लिन लगाउनुभएछ, ती नेताले नेपालखबरसँग भने, ‘तर पत्र बुझाउनेले उनले बुझेको हस्ताक्षर गराउन भुलेछन्। अनि झाँक्रीजीले आफूलाई पत्र नबुझाएको भन्न थाल्नुभएछ।’

असार १६ गते अनुशासन आयोगका अधिकारी झाँक्रीलाई फोन गरेर स्पष्टीकरण मागिएको पत्र पुर्‍याउन घरमै पुगेको दाबी एक पदाधिकारीले गरे। 

एक पदाधिकारी भन्छन्, ‘आयोगका साथीहरूले पत्र दिएपछि भइहाल्छ भन्ने सोच्नुभएछ। त्यही भएर पत्र बुझ्नेको हस्ताक्षर गराउन आवश्यक ठानेनछन् अनि त्यही कुरालाई आधार बनाएर झाँक्रीजी के प्रमाण छ भन्दै बटारिन थाल्नुभयो।’

उनी थप्छन्, ‘के प्रमाण छ भनेपछि अहिले त्यसकै खोजी भयो, अहिले भएको झमेला यही हो।’

अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण लिनका लागि हातेपत्र मात्र नभएर इमेलसमेत गरेको दाबी ती पदाधिकारी गर्छन्।

उनका अनुसार त्यसमा अध्यक्षविरुद्ध किन बोलेको, तपाईंलाई कारबाही किन नगर्ने भनेर सोधिएको ती पदाधिकारीको भनाइ छ।

एकीकृत समाजवादीको अनुशासन आयोगका उपप्रमुख बालकृष्ण मिश्र यस विषयमा असार २० गतेसम्म कुनै निर्णय गर्ने तयारी रहेको बताउँछन्।

एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा झाँक्रीले नेतृत्वविरुद्ध गरेको टिप्पणीलाई पार्टीले गम्भीर रूपमा लिएको बताए।

झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा समेत चर्चा भएको छ।

‘सुरुदेखि अन्तिमसम्म झाँक्रीजीले यो पार्टीको विषयमा राम्रो कुरा गर्नु भएनछ’, सचिवालयमा उठेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘म आफैँ पनि यो पार्टीमा सन्तुष्ट छैन, यो पार्टीमा किन लाग्ने? म आफैँ खुसी छैन, यस्तो पार्टीमा बसेर तपाईंहरूको समेत भविष्य गन्जागोल हुन्छ, तपाईंहरू यहाँ किन भनेर भन्नुभएछ। आधी घन्टाको भाषण सबै त्यस्तै छ। अन्तिममा माधव नेपालको बारेमा तथानाम बोलिएको रहेछ।’

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डे झाँक्रीले जे पायो बोल्दै हिँडेको बताउँछन्। 

‘पार्टी अध्यक्षलाई बदनाम गर्ने, पार्टीविरुद्ध नचाहिँदो कुरा गर्नुभएछ, झाँक्रीजीले त यो पार्टी चल्दैनसमेत भन्नुभएछ’, पाण्डेले भने, ‘उहाँको अभिव्यक्ति त स्पष्टीकरण माग्नैपर्ने खालको थियो।’

सचिवालय बैठकमा उपमहासचिव मेटमणि चौधरीले झाँक्रीको अभिव्यक्तिबारे खुलाएका थिए। 

उनैले हो- झाँक्रीले माधव नेपालबारे दिएको अभिव्यक्तिको ब्रिफिङ गरेका। 

यस प्रकरणले आफूलाई कारबाही हुने त्रासमा देखिन्छिन्- स्थायी कमिटी सदस्य झाँक्री।

त्यही भएर उनले पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र संगठन विभाग प्रमुख वेदुराम भुसाललाई बोधार्थ दिएर अध्यक्ष माधव नेपाललाई पत्र पठाएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad