समाज


बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण

बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण

नेपालखबर
असार २०, २०८२ शुक्रबार ९:४८, काठमाडौँ

ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा बज्रबाराही चापागाउँ अस्पतालको सहयोगमा बिहीबार कार्यक्रम गरिएको हो।

कार्यक्रममा अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना बनाउन सरोकारवालाहरुले जोड दिएका छन्। अस्पतालको सुधार, सेवा विस्तार र जनविश्वास निर्माणमा अस्पताल प्रशासनले जोड दिनुपर्ने सुझाव पनि उनीहरुले दिए। 

कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बज्रबाराही चापागाउँ अस्पताललाई विश्वसनीय र प्रभावकारी अस्पतालको रुपमा विकास गरिने बताए।

‘महानगर वा नगरपालिकाहरुले आफ्नै स्रोतले पनि अस्पताल सञ्चालन गर्न सक्छ, तर स्रोत र साधनको अभावमा गाउँपालिकालाई गाह्रो पर्छ,’ उनले भने, ‘नागरिकको हितलाई हामीले ध्यान दिनुपर्छ, कुनै पनि बिरामीले यहाँ आएपछि सेवा नपाउने अवस्था हुनुहुँदैन। नागरिकमा स्वास्थ्य सम्बन्धी जनचेतनाको पनि विकास हुनुपर्छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ पनि हाम्रो ध्यान जानुपर्छ।’

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष भास्कर थापाले आफूले थाहा पाउँदा ‘ससिखेल हेल्टपोष्ट’ भनेर चिनिने अस्पताल आज प्रदेशस्तरीय अस्पतालका रुपमा विकास भएकोमा खुसी व्यक्त गरे। उनले अस्पतालले विश्वासिलो ढंगले सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए। 

वडा नम्बर ११ का अध्यक्ष निलबहादुर देसारले विरामीको चाप बढ्दासमेत अस्पतालमा सेवा लिनेको संख्या घट्नु चिन्ताको विषय भएको बताए। उनले जनतामा अस्पतालप्रति विश्वास कायम गर्न प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। 

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारको अवसरको रूपमा लिएर कार्ययोजनामा समावेश गरिने बताए। ‘हामी राजनीतिमा होइन, सेवामा केन्द्रित छौँ, समितिले बनाएको योजनाअनुसार साउनदेखि सुधारका काम अघि बढ्छन्,’ उनले भने। 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको बताए। उनले अस्पतालमा ९८ प्रकारका औषधि भने सधैँ उपलब्ध नभएको स्विकार गरे।

‘एम्बुलेन्स बिग्रिएको छ। यसले पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ,’ उनले भने, ‘अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तरमा ध्यान दिँदै टोकन प्रणाली, सर्जरी सेवा, नाक कान घाँटीको उपचार जस्ता क्षेत्रमा सुधार ल्याउने तयारीमा छौँ।’

डा. अमरदीप शाहले विगतको तुलनामा अस्पतालमा भर्ना हुने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको बताए। ‘विशेषज्ञ सेवाको पहुँच वृद्धि भएको छ, तर वीमा भुक्तानी नआउँदा समस्या थपिएको छ,’ उनले भने। 

अस्पतालले प्रवाह गर्दै आएको सेवा, सुविधा र गुणस्तरीयताको विषयमा पत्रकार शिवहरि घिमिरेले प्रस्तुतिकरण गरेका थिए । उनले अस्पतालले सेवा प्रवाह गर्दा देखिएको समस्या र समाधानका उपाय पनि प्रस्तुतीकरणका क्रममा सुझाएका थिए। अस्पतालमा केही समस्या भए पनि ठूलो समस्या नभएको उनको दाबी थियो।

कार्यक्रममा जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले भने, ‘‘पाटन अस्पतालबाट जिल्ला अस्पताल निकालेर ल्याउन समस्या थियो, हामीले ल्यायौँ। स्थानीय पालिकाले नै सञ्चालन गरेको अवस्थामा प्रमोसन भएर काम भएको छ। यो अस्पताल गोदावरी क्षेत्रको मोडेल अस्पतालको रुपमा विकास होस्।’

कार्यक्रममा अग्रज पत्रकार प्रभुनारायण बस्नेतले अस्पतालको सेवा सन्तुष्टि दिने खालको भएपनि प्रचारप्रसार नहुँदासम्म गाह्रो हुने बताए। 

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षता भएको सामाजिक परीक्षण कार्यक्रममा पत्रकार, सेवाग्राही, जनप्रतिनिधि, डाक्टर, नर्सलगायतका नागरिक समाजका ७९ जना प्रतिनिधिको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad