राजनीति


‘कुलिङ अफ’मा शब्दको चलखेल सुविचारित षड्यन्त्र, सभापति खतिवडाले राजीनामा दिनुपर्छ: सापकोटा


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ अफ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस घटनाको जिम्मेवारी लिँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने माग पनि गरे।

उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने उनको धारणा थियो। 

उनले भने, ‘मुख्यसचिव र संसदका महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलियो, त्यो पृष्ठभूमि सम्झिनुपर्छ। राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भयो। सभापतिजीले अन्तिम समितिको बैठक नबसिकन प्रतिवेदन बुझाउनुभयो। यी दुई तथ्य हेर्नुपर्छ। यो सुविचारित तरिकाले गरिएको षड्यन्त्र हो। यसलाई हामीले यसरी नै लिएका छौँ। संसदमाथिको गम्भीर अपराध हो। यसलाई सामान्य रूपमा लिन सक्दैनौँ। जानाजानी समिति सभापति जानकार हुनुहुन्छ भने यो त किर्ते जालसाजी हो। उहाँको संलग्नता छैन भने उहाँले हस्ताक्षर गरेको प्रतिवेदनमा कहाँबाट आयो? नैतिक रूपमा समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ। उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाउनुपर्छ। संलग्नलाई कारबाही गर्नुपर्छ।’

उनले छानबिनको अवस्था नबनेसम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने अडान पनि राखे।

सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो।

यस प्रबन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन। सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो।

समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा ‘बाहेक’ भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad