राजनीति


भण्डारीलाई रोक्न प्रधानमन्त्री छँदै ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्ष बन्ने ओलीको तयारी

केपीलाई गलाउँदै लैजाने रणनीतिमा विद्या
भण्डारीलाई रोक्न प्रधानमन्त्री छँदै ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्ष बन्ने ओलीको तयारी

सागर न्यौपाने
असार १६, २०८२ सोमबार १९:३५, काठमाडौँ

औपचारिक रूपमा नेकपा एमालेको राजनीतिमा होमिएपनि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको अध्यक्ष बन्नबाट रोक्न हदैसम्मको प्रयास हुने उनीपक्षीय नेताहरूले बताएका छन्।

अहिले एमालेको अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को एक कार्यकाल आफै अध्यक्ष बन्ने बताउँदै आएका छन्। त्यसका लागि प्रधानमन्त्री छँदै ‘अर्ली महाधिवेशन’ गरेर अर्को चार वर्षका लागि अध्यक्ष पद सुरक्षित गर्न चाहेका छन्। 

नियमित समयमा हुँदा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन २०८३ को मंसिरमा हुनु पर्ने हो। तर ओली एक वर्षअघि नै आगामी मंसिर वा फागुनसम्ममा महाधिवेशन गरेर अर्को कार्यकालका लागि अध्यक्ष बनिहाल्न चाहन्छन्। नेपालखबरले कुराकानी गरेका एमालेका केही उच्च नेताहरूका अनुसार ओलीले प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गर्ने तयारी अगाडि बढाएका छन्। तर यसको औपचारिक निर्णय भने भदौमा हुने विधान महाधिवेशनपछि मात्रै हुनेछ। 

महासचिव शंकर पोखरेल र जनवर्गीय संगठन इन्चार्ज भानुभक्त ढकाल लगायत नेताले असार ४ गतेको मदन जयन्तीको कार्यक्रममा नजान सकुर्लर नै पठाएको प्रमाण फेला परेको दाबी भण्डारी पक्षीय नेताहरूको छ। अबका पाँच महिना यस्तै माहोल कायम राख्न प्रयास गर्ने र मंसिरमै महाधिवेशन गर्ने रणनीति अध्यक्ष ओली र महासचिव पोखरेल लगायतको हो। 

‘युवा, महिला, अनेरास्ववियु, प्रेस चौतारीजस्ता जनवर्गीय संगठनको नेतृत्वलाई पार्टीलाई नसोधी कहीँ जान पाइँदैन भनेर निर्देशन दिइएको रहेछ। त्यहाँ कोही थिएनन् नि जनवर्गीय संगठनका नेताहरू,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने।

तर, उनीहरूको केही सीप नचलेको र राष्ट्रिय सभा गृहमा ४ हजारभन्दा बढी मानिस सहभागी भएको उनले बताए। सोही कार्यक्रममा भण्डारीले अब राष्ट्रलाई नेतृत्व गर्ने पार्टी बनाउने बताउँदै राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्। 

राजनीति छोडेको ९ वर्ष ८ महिना र राष्ट्रपतिबाट जिम्मेवारीमुक्त भएको २८ महिनापछि उनी पार्टी राजनीतिमा सक्रिय भएकी हुन्।

अर्ली महाधिवेशनको तयारी
दसौँ राष्ट्रिय महाधिवेशन (२०७८ मंसिर ११) मा केपी शर्मा ओलीका लागि महाधिवेशन नै सारिएको एमाले नेताहरू बताउँछन्। 

फागुन ११ गते ओली ७० पुगेर ७१ लाग्दै थिए। त्यसैले महाधिवेशन सारेर मंसिरमै ल्याइएको ती पदाधिकारी बताउँछन्।

‘असोजमा विधान महाधिवेशन गरेर मंसिरमा दसौँ महाधिवेशन गर्‍यौँ, नियमित समयमा दसौँ महाधिवेशन गर्दा केपी ओली ७१ वर्ष लागिसक्नुहुन्थ्यो त्यही भएर चार महिनाअगाडि सारेको हो,’ उनले भने, ‘पार्टी फुटेको अवस्था थियो, अर्काे मान्छे थिएन। ओलीलाई नै दोहोर्‍याउनुपर्ने भएपछि महाधिवेशनको मिति नै सारियो। त्यसबेला अध्यक्ष भइसकेपछि अथवा कार्यकारी प्रमुख भइसकेको व्यक्तिलाई त्यो कार्यकाल ७० वर्ष पुगे पनि रहनेछ भनेर थपियो।’

त्यसैगरी यसपटक पनि भण्डारीलाई रोक्न चलखेल हुने भय उनीपक्षीय नेताहरूमा देखिन्छ।

एमालेको विधान महाधिवेशन भदौ २०–२२ मा हुँदैछ। नियमित महाधिवेशन २०८३ मंसिरभित्र गर्नुपर्नेछ। तर, भण्डारीलाई तयारी गर्न नदिन यही वर्षको मंसिरमै महाधिवेशनको मिति घोषणा गर्न सक्ने ती पदाधिकारी दाबी गर्छन्।

‘बाहिर अर्ली महाधिवेशनको हल्ला चलेको छ,’ भण्डारी पक्षका एक पदाधिकारीले भने, ‘यदि त्यसो भएमा तयारी समय कम हुन्छ। विद्या भण्डारीलाई रोक्नको लागि अगाडि नै महाधिवेशन घोषणा हुनसक्छ।’ 

त्यसो भए चुनावमै जानुपर्‍यो भने पनि भण्डारीलाई अप्ठेरो पर्न सक्ने उनको भनाइ छ।

त्यति मात्र होइन, भण्डारीलाई रोक्न सबैखाले प्रयत्न हुने उनको दाबी छ।

‘सकेसम्म के–के सकिन्छ गर्नुहुन्छ। भेटेरै तपाईं अहिले नआउनुस् भनेकै हुन्,’ उनले भने, ‘अस्तिको कार्यक्रममा मान्छे रोक्नै प्रयास गरे तर रोकिएनन्। मान्छे रिसाएपछि के लाग्छ! उहाँहरूले विद्यालाई यसरी नआउनु भनेर रोक्ने प्रयास गरे पनि उहाँ रोकिनु भएन। ड्याङ्गै आउने भनेर भनिसक्नुभयो। हच्किन्छन् कि भनेर गरेको प्रयास सफल भएन। चुनावमा उठ्छु भनेपछि नउठ भन्न मिल्दैन।’

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भने अध्यक्ष ओलीले अर्ली महाधिवेशन हुँदैन भनेर सार्वजनिक रूपमै बोलिसकेको बताए। 

‘हाम्रो अध्यक्षले अर्ली महाधिवेशन हुँदैन भनेर बोल्नुभएको थियो। उहाँकै चाहना अर्ली महाधिवेशन छैन कि जस्तो देखिन्छ। नत्र सार्वजनिक रूपमा नबोल्नुपर्ने,’ ज्ञवालीले भने, ‘अब हामी विधान महाधिवेशनमा केन्द्रित भएका छौँ।’ 

अर्का उपाध्यक्ष गुरु बराल भने राष्ट्रिय महाधिवेशनबारे अहिले छलफल नै नचलेको दाबी गर्छन्। 

‘पहिला विधान महाधिवेशन हुन दिनुस्, पार्टीले उपयुक्त समयमा निर्णय गर्छ। अहिले त्यसबारे कुनै टुंगो भएको छैन,’ उनले भने, ‘केपी ओली र विद्या भण्डारी मिलाएर मात्र एमालेको संगठन अगाडि बढ्छ। यसमा गम्भीर हुनुपर्छ।’

भण्डारीको तयारी
आफूलाई रोक्न ओली पक्षले चाल्ने जुनसुकै कदमलाई पनि निस्तेज पार्ने तयारी भण्डारीले गरेको उनीनिकटस्थहरूको भनाइ छ। त्यसका लागि उनले समूह बनाइसकेकी छन्। जसले सांगठनिक र जिल्ला दौडाहाको कार्यक्रम बनाइरहेको उनी पक्षका एक पोलिटब्युरो सदस्य बताउँछन्। 

‘अबको रणनीति भनेको ओलीलाई गलाउँदै महाधिवेशनमा निर्णायक धक्का दिने हो,’ उनले भने, ‘अस्तिको कार्यक्रमले निराश कार्यकर्तामा आशा र भरोसा जगाएको छ। बोली बन्द भएका नेता–कार्यकर्ता बोल्न थालेका छन्।’

भण्डारीका पक्षमा खुलेका अर्का पदाधिकारी पनि तत्काल महाधिवेशन भए पनि कुनै समस्या नहुने दाबी गर्छन्।

‘विद्या भण्डारी को हो भनेर चिनाउन परेन। चुनावमा उम्मेदवार चिनाएजस्तो होइन। मान्छेको मनस्थिति विद्या भण्डारी आउने भनेपछि आशावादी देखिन्छ,’ उनले भने, ‘माहोल निकै राम्रो बन्दै गएको छ। अस्तिको कार्यक्रमले देशभरि प्रभाव पारेको छ।’

भण्डारी विवादित नभएकाले उनलाई समस्या नपर्ने ती नेता तर्क गर्छन्।

‘विद्या भण्डारी त नबोल्ने, काम गर्ने व्यक्ति हो। उहाँ कमजोर मान्छे होइन, सैद्धान्तिक वैचारिक कति पढ्नु भएको छ, त्यो अलग कुरा हो। तर, पोलिटिकल स्ट्यान्ड लिने व्यक्ति हो। धेरै नबोल्ने, केही आलोचना आयो भने पनि हाँस्ने तर प्रतिक्रिया नजनाउने, टेन्सन नलिने, थोरै प्रतिक्रिया दिने। जिम्मेवार नेतामा हुनुपर्ने बानी छ,’ ती नेताले भने, ‘ओलीको के हुन्छ भने कसैले विरोध गर्‍यो भने, उहाँलाई छटपटी हुन्छ, अनि केही प्रतिक्रिया दिने, भनिहाल्ने गर्नुहुन्छ।’

एमालेका केही नेताहरू भने अझै पनि ओली र भण्डारीबीच मेलमिलाप हुनसक्ने आशामा छन्।

‘भण्डारी–ओलीबीच कम्प्रोमाइज पनि हुनसक्छ। कम्पिटिसन पनि हुन सक्छ,’ उनी भन्छन्।

यद्यपि एमालेको राजनीति गर्न सबै हिसाबले तयारी गरेकी भण्डारीलाई रोक्ने अध्यक्ष ओलीलाई एकदम गाह्रै पर्ने ती नेताको भनाइ छ।

‘विद्याजी कमजोर हुनुहुन्न, एक त महिला, अर्काे मदनको पारिवारिक विरासत। उहाँ कुनै विवादमा पर्नुभएको छैन। गिरिबन्धु स्टेट, बाल मन्दिर लगायत खत्र्याकखुत्रुक केही छैन,’ उनले भने, ‘उहाँको विरोध गर्ने ठाउँ छैन। राष्ट्रपति भइसक्या मान्छे फेरि किन राजनीति गर्न लागेको भन्लान्। त्यो राजनीतिक कुरा भयो। राजनीतिक रूपमा कसैलाई ठीक लाग्ला कसैलाई बेठीक लाग्ला। उहाँलाई प्लस प्वइन्ट नै हुन्छ। विरोध गर्ने ठाउँ छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad