राजनीति


पूर्वशिक्षामन्त्री भट्टराई भन्छिन्– सरकार स्वार्थ समूहको पछि लाग्यो

पूर्वशिक्षामन्त्री भट्टराई भन्छिन्– सरकार स्वार्थ समूहको पछि लाग्यो

नेपालखबर
असार १६, २०८२ सोमबार १९:२५, काठमाडौँ

पूर्व शिक्षामन्त्री एवं नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको बताएकी छिन्।

सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले सरकार समेत स्वार्थ समूहको दबाबमा काम गरिरहेको आरोप लगाइन्।

‘सरकार कि मस्यौदामा उभिनुपर्‍यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्‍यो,’ भट्टराईले भनिन्, ‘सरकार हरेक पल स्वार्थ समूहले भनेको कुराहरूको पछि लाग्ने हो भने संसद्को गरिमामय मर्यादा बाँकी रहन्न।’

उनले भनिन्, ‘सरकारले कि मस्यौदा कि त प्रतिवेदनमा उभिनुपर्‍यो। हैन सरकारले यस्तै कुरा गर्ने हो भने मस्यौदामा त ५० आन्तरिक र ५० प्रतिशत खुला पतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने कुरा भनेका थियौँ। त्यहाँबाट सहमतिका लागि ६०/ ६० आन्तरिकबाट र ४० खुला प्रतिस्पर्धाबाट भन्ने कुरामा पुगेको हो।’

आफूले शिक्षक महासंघको आन्दोलनलाई सही ठाउँमा पुर्‍याउन मन्त्री पद छाडेको स्मरण गर्दै अहिले महासंघ आफै विधेयकमा बाधा हाल्न लागि परेको समेत आरोप लगाइन्।

‘म त्यो मन्त्री हो जसले महासंघकै आन्दोलनलाई सही ठाउँमा पुर्‍याउनका लागि म कतै बाधक भए कि भनेर छोडेको एउटा व्यक्ति पनि हुँ,’ भट्टराईले भनिन्, ‘विधेयकका लागि उहाँहरू मन्त्री समेत फेर्न तयार भएको अवस्थामा आज समिति तयार भइरहँदा, सरकार तयार भइरहँदा फेरि बाधा सिर्जना गर्न पाइन्छ कि पाइँदैन?’

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad