नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। सोमबारको अर्थ समितिको बैकठमा बोल्दै उनले आपत्ति जनाएकी हुन्।
आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो।
जसबारे बोल्दै उनले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताइन्।
अवैधानिक रुपमा व्यापार व्यवसाय गर्नेहरूमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको उनको भनाइ छ। उनले हिरामा लगाइएको विलासिताको कर हटाउनुपर्ने प्रस्ताव पनि गरिन्।
‘यदी व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसरी टाइट गर्ने हो भने झनै समस्या आउँछ। अहिलेको अवस्था त यति नैरास्यता छ। हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ,' उनले भनिन्, 'यो तरिकाले झनै तल खस्किन्छ। डायमण्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनु पर्छ। आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाइदिए मारमा उनीहरू नै पर्दछन्। हामी उद्योग धन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ।’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महंगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार सुकिरहेको बताइन्। उनले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताइन्। निजी क्षेत्र, उद्योगी व्यवसायीहरूले उपभोक्तालाई मारमा नपार्ने गरी कानुन निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ।
सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गरिन्। यसले युवाहरूलाई विदेश जाऊ, देशमा नबस भनेको स्पष्ट उनको भनाइ छ।
Shares

प्रतिक्रिया