राजनीति


कांग्रेस तल्लो तहका नागरिकलाई समृद्ध बनाउने अभियानमा छ: गगन थापा

कांग्रेस तल्लो तहका नागरिकलाई समृद्ध बनाउने अभियानमा छ: गगन थापा

नेपालखबर
असार ९, २०८२ सोमबार १०:४२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा कांग्रेस क्रियाशील रहेको दाबी गरेका छन्। 

सोमबार कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले उक्त कुरा बताएका छन्। 

बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा.बच्चु कैलाश कैनीसँगको अन्तक्रियामा बाेल्दै महामन्त्री थापाले कांग्रेस तल्लो तहका नागरिकको जीवनस्तर उकास्न केन्द्रीत रहेको बताएका हुन्। 

‘हामीले खोजेको भनेको समुन्नत नेपाल हो। हामी पूँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौ, नाफालाई अपराध मान्दैनौँ,’ थापाले भने, ‘तर हामी तल्लो तहमा रहेका नागरिकलाई माथि उकास्न चाहन्छौँ।’

उनले कांग्रेसले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनु नपर्ने बताए। ‘नेपाली नागरिकले खोजेको कुरा यस्तै व्यवस्था हो। यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ,’ उनले भने। 

महामन्त्री थापाले उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबाबमा रहेको भन्दै नेपालले सिक्नुपर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय भएकोमा जाेड दिए।

‘हामीले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो। संसदीय प्रणालीमा हाम्रो ठूलो विश्वास छ। लेबर पार्टीबाट सिक्ने कुरा धेरै छ’, महामन्त्री थापाले भने। 

उनले लेभव पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको बताउँदै पुराना पार्टीहरु संकटमा भएको अवस्थामा वेलायतमा लेबर पार्टी पनि संकटमा छ भन्ने आफूले बुझेको बताए। 

‘सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा हामीले पनि त्यहीँ उठाएका थियौँ,’ थापाले भने, ‘बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ। हामीले पनि २०४८ सालमा चुनाव जितेपछि उदारवादी नीति ल्याएकै हो। ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो।’

कार्यक्रममा बेलायतको लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताए। उनले नेपाली कांग्रेसमा पनि लेबर पार्टीमा भएका राम्रो कामहरु लागू होस् भन्ने आफूले चाहेकोमा जोड दिए। 

उनले बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको बताए।  

‘बेलायतमा सांसद चारपाँच पटकसम्म हुन परिपक्व नेता बनाउन प्रोत्साहित गर्ने प्रचलन रहेको छ,’ उनले भने, ‘निर्वाचनमा जानु अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुन्छ। पार्टीले बहुमत नल्याएको अवस्थामा पनि विपक्षी दलको नेता हुन्छ।’

कार्यक्रममा उनले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको संस्थागत अभ्यास, पार्टी भित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे आफ्नो अनुभव सुनाएका थिए। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको त्यहाँको अभ्यास र अनुभवले नेपाली कांग्रेसलाई मात्र नभइ नेपालको समग्र लोकतान्त्रिक आन्दोलनलाई झक्झक्याउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad