राजनीति


इजरायल तथा इरानमा रहेका नेपालीको सुरक्षाका लागि पहल गर्न ११ वामपन्थी समूहको माग

इजरायल तथा इरानमा रहेका नेपालीको सुरक्षाका लागि पहल गर्न ११ वामपन्थी समूहको माग

नेपालखबर
असार ८, २०८२ आइतबार २०:३७, काठमाडौँ

नेकपा (मसाल) सहित ११ राजनीतिक दल तथा समूहहरूले इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग माग गरेको छ। 

आइतबार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको पहलमा बसेको ती दलहरूको बैठकले यस्तो आग्रह गरेको हो। 

बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी थिए।

बैठकपछि संयुक्त वक्तव्य प्रकाशित गरी उनीहरूले ‘अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग’ गरेका छन्।

वक्तव्यमा ‘अमेरिकी साम्राज्यवाद’को उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उल्लेख गर्दै ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको’ बताइएको छ। 

‘यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ। यो गम्भीर युद्ध अपराध हो। यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ’ वक्तव्यमा भनिएको छ, ‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ। यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ।’ 

उनीहरूले अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न माग गर्दै विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोज्न पनि आव्हान गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad