इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई 'धोका' दिएको आरोप लगाएका छन्।
अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेपछि इरानी विदेशमन्त्रीको प्रतिक्रिया आएको हो।
उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प विश्वको यस भागमा अमेरिकाको महँगो र अन्तहीन युद्धबाट बाहिर निस्कने वाचामा (राष्ट्रपति) चुनिएका थिए।’
उनले अगाडि भनेका छन्, ‘तर उनले कूटनीतिप्रतिको हाम्रो प्रतिबद्धताको दुरुपयोग गरेर इरानलाई मात्र होइन, आफ्ना मतदाताहरूलाई समेत धोका दिएका छन्।’
उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई औंल्याउँदै भनेका छन्, ‘उनी एक वान्टेड युद्ध अपराधीको उद्देश्यसामु झुकेका छन्। एक व्यक्ति जसले इजरायली शासनको हितलाई अगाडि बढाउन अमेरिकी जनताको जीवन र सम्पत्तिको शोषण गरिरहेको छ।’
नोभेम्बर २०२४ मा आईसीसी (अन्तर्राष्ट्रिय फौजदारी अदालत) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आईसीसीले गाजामा आक्रमण गरेका कारण नेतन्याहुलाई युद्ध अपराधको आरोप लगाएको हो। जसलाई इजरायलले भने अस्वीकार गरेको छ।
Shares

प्रतिक्रिया