राजनीति


मुकुल ढकालले आयोगको कमजोरीको ‘फाइदा उठाउँदा’ रास्वपामा फेरि हलचल

कावा प्रमुख आयुक्त भन्छन् : हामी चुनावतिर र उहाँहरू रवितिर लाग्दा छुटेछ
मुकुल ढकालले आयोगको कमजोरीको ‘फाइदा उठाउँदा’ रास्वपामा फेरि हलचल

सागर न्यौपाने
असार ८, २०८२ आइतबार २०:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अद्यावधिक गरिएको पूर्ण विवरण आइतबार निर्वाचन आयोगमा पेस गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी निर्णयका माइन्युट, नयाँ पदाधिकारी विवरण, कारबाही गरेर रिक्त पदमा नयाँ नेताको व्यवस्थापन गरिएका लगायतका कागजात आयोग कार्यालय बहादुर भवन पुगेर बुझाएका हुन्। 

यसअघि अघिल्लो वर्षको असारमा महामन्त्री रहेका डा. मुकुल ढकाललाई कारबाही गरेलगत्तै सोही वर्षको साउन १७ गते रास्वपाले अद्यावधिक विवरण आयोगमा पेस गरेको थियो।

तर, त्यसमा निर्णय प्रक्रियाका केही कागजात नपुगेको भन्दै आयोगले अद्यावधिक नगरी होल्ड गरिदिएको थियो। 

जसले गर्दा रास्वपाले कारबाही गरेर निस्कासन गरेका डा. मुकुल ढकालले केही दिनअघि निर्वाचन आयोगको सूचनाको हक अनुसार रास्वपाको पदाधिकारी विवरण माग गर्दै निवेदन दिएका थिए। 

आयोगले अद्यावधिक नगरेको विवरण दिएपछि डा. ढकालले आफू नै महामन्त्री रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थाले। रास्वपाका नेताहरूले आयोगमाथि प्रश्न उठाएका थिए। त्यसपछि आयोगले यसबारे छानबिन गरेर कमजोरी भएको कुरा पत्ता लगाएको हो। 

आफ्नो पक्षबाट कमजोरी भएको स्वीकार गरेको आयोगले रास्वपाका नेताहरूलाई पनि पर्याप्त प्रमाणसहितको कागजात पेस गर्न आग्रह गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। 

‘उहाँहरूले अद्यावधिक फाइल पेस गर्नुभएको थियो, तर,  अद्यावधिक पेस गरेको फाइलमा प्रमाण पुगेको थिएन। यो यो प्रमाण ल्याउनुस्, अनि भइहाल्छ भनेर हामीले भनेका थियौँ। बीचमा हामी चुनावतिर लाग्यौँ। उहाँहरू रवितिर लाग्नुभयो,’ भण्डारीले भने, ‘उनीहरूले कारबाही गर्‍यौँ भन्ने तर, कसरी कारबाही गरेको? कुन प्रक्रियाबाट कारबाही गरेको? त्यो सबै प्रमाण नदिएका कारण भएको हो।’

आइतबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी प्रमाणहरू लिएर आयोग कार्यालय पुगेका थिए।

‘आज उहाँहरूले सबै प्रमाण जुटाएर पेस गर्नुभएको छ, अब एक दुईदिनमा अद्यावधिक हुन्छ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले थपे। 

रास्वपाका महामन्त्री बुर्लाकोटीले आयोगले १० महिनासम्म कुनै कारबाही नगरेर आफ्नो पार्टीको विवरण अद्यावधिक नगरेको बताए। 

‘हामीले २०८१ साउन १७ गते हामीले मुकुल ढकालजीलाई कारबाही गरेपछि हाम्रो पदाधिकारी लगायतमा भएको फेरबदलसहितको विवरण पठाएर अद्यावधिक गरिदिन निवेदन दिएका थियौँ,’ बुर्लाकोटीले भने, ‘त्यसबेला उहाँहरूले कुनै पनि कागजात माग्नुभएको थिएन। निर्वाचन आयोगले आफ्नो प्रक्रियामा गरिराख्छ, नपुगेको विवरण माग्छ भन्नुभएको थियो। तर, यहाँ गञ्जागोल भएपछि जेठ २८ गते माइन्युटको प्रतिलिपि लगायतका केही सामग्री मागेका थियौँ।’

आफूहरू अब आयोगसँग थप द्वन्द्व बढाउने मुडमा नरहेको उनी बताउँछन्। 

‘हामीले अद्यावधिकका लागि निवेदन दिएकै छैन जस्तो गरेर मुकुलजीलाई आयोगले चिठ्ठी दिएपछि यो समस्या आएको हो,’ बुर्लाकोटीले थपे। 

तर, आयोगले रास्वपाको अद्यावधिक गरिएको निवेदनलाई गम्भीरतापूर्वक नलिएको अधिकारीहरूकै भनाइ छ।

‘कहिले आयोगको आयुक्त नहुने, कहिले उपचुनावमा दौडनुपर्ने हुँदा त्यो प्राथमिकतामा नपरेको पनि हुनसक्छ,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘अद्यावधिक गर्ने प्रक्रियामा रहेको, केके डकुमेन्ट बुझ्नुपर्ने अवस्था भएकोले आयोगले निर्णय गर्न बाँकी नै थियो। त्यसबेला पुरानै जे रेकर्ड छ, त्यही नै कायम हुनेभयो।’

आयोगका एक अधिकारीका अनुसार रास्वपाको अद्यावधिक विवरणमा नपुगेको भनेर फलोअप गर्ने काम महाशाखा  र सचिवालयले नगरेकाले यस्तो समस्या देखिएको हो।

सूचनाको हक प्रयोग गरेर लिएका थिए ढकालले विवरण 
आयोगको कमजोरीको फाइदा मुकुलले उठाएको आयोगका अधिकारीहरूको भनाइ छ।

रास्वपाबाट निस्कासित ढकालले आयोगमै पुगेर सूचनाको हक प्रयोग गरेर रास्वपाका पदाधिकारीको विवरण लिएका थिए। 

‘सूचनाको हक अन्तर्गत मुकुल ढकालले रास्वपाको पदाधिकारीको विवरण पाऊँ भनेर निवेदन दिएका रहेछन् कार्यवाहक प्रमुख निर्वाचन अधिकृतलाई सम्बोधन गरेर, उहाँले विवरण उपलब्ध गराउने भनेर सचिवलाई तोक लगाइदिनुभएछ,’ ती अधिकारीले भने, ‘पदाधिकारीको विवरण मात्र दिएको भए हुने तर, मुकुलजीले कभर लेटर पनि बनाउन लगाएर लैजानुभएछ। अनि म त महामन्त्री छँदैछु भन्दै अतिरञ्जित गर्दै मिडियामा जानुभएछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad