राजनीति


७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

नेपालखबर
असार ८, २०८२ आइतबार १३:२०, काठमाडौँ

स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई भाडामा दिउँ भन्ने अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाइएको छ।  आज आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले शीर्ष नेताको बाहेकका जिल्लामा बजेट नदिएको भन्दै उनले यस्तो बताएका थिए। 
 
उनले भनेका थिए, 'नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ। बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिऊँ, अमेरिकालाई दिऊँ, भारतलाई दिऊँ, चीनलाई दिऊँ।’

उनले यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। 

‘छलफलमा सहभागी मानीय सदस्यले आपत्तिजनक विषय राख्नुभयो। विनियोजन छलफलमा भाग लिनु भएको छ। देशलाई अर्को कुनै देशलाई दिउ भनिरहनु भएको छ। यो देशद्रोही अभिव्यक्ति हो। यो कारबाहीको विषय हो,’ उनले भने, 'यो रेकर्डबाट हटाउने मात्रै होइन। उहाँलाई बोल्न दिने कुरामा पनि ख्याल गर्नुपर्छ। उहाँलाई यो भन्दा अगाडि बढ्न दिनु हुँदैन। कारबाहीको विषय बनाइयोस्। रुलिङ होस्।’

बर्तौलाले बोलेलगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए। ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’

संसद् सचिवालयका अनुसार उनको अभिव्यक्ति डिलिट भइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad