राजनीति


साढे ५ हजार शब्दको पत्रमा जीबी र छविबारे रविका सय शब्द

साढे ५ हजार शब्दको पत्रमा जीबी र छविबारे रविका सय शब्द

तस्बिरमा बायाँबाट क्रमश: जीबी राई, रवि लामिछाने र छविलाल जोशी


नेपालखबर
असार ७, २०८२ शनिबार १४:१७, काठमाडौँ

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा हाल रुपन्देही जिल्ला कारागार (भैरहवा) मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामो लिखित सन्देश जारी गरेका छन्। 

झन्डै साढे ५ हजार शब्दको पत्रमा उनले एक प्रकारले आफ्नो जीवनको पूरा कथा भनेका छन्।

वर्तमान सरकार तथा नेताहरूविरुद्ध आक्रोश पोखेका उनले सहकारी ठगी मुद्दाका सन्दर्भमा आफू अनुसन्धानमा तानिने प्रमुख कारण बनेका गोर्खा मिडियाका अध्यक्ष  गीतेन्द्रबाबु (जीबी) राई र पूर्वडीआइजी छविलाल जोशीबारे पनि थोरै लेखेका छन्। 

जोशीको ढिपीमा राईसँग भेटेर टेलिभिजनमा आबद्ध भएको कुरा लेख्न उनले सय शब्द मात्र खर्चेका छन्। 

त्यसमा लामिछानेले गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोर के टीभीमा काम गर्दा आर्थिक जिम्मेवारी जीबी राईले लिने र आफूले समाचार र कार्यक्रमको जिम्मेवारी मात्र लिने गरी सम्झौता गरेको जिकिर पनि गरेका छन्। 

न्युज-२४ मा सिधाकुरा जनतासँग कार्यक्रमका क्रममा जोशीसँग भेट भएको उनले पत्रका उल्लेख गरेका छन्। 

‘...यही सेरोफेरोमा एउटा समाचारको सन्दर्भमा एकपटक मात्र चिनजान भएका पूर्वडीआइजी छविलाल जोशीले मलाई अलि ताकेता नै गरी जीबी राईसँग भेटाए। उनीहरू ठूलो लगानीमा गुणस्तरीय टेलिभिजन खोल्दै रहेछन्, मिलेर काम गरौँ भने। पन्ध्र प्रतिशत सेयर दिने भए। मैले कुनै आर्थिक दायित्व बोक्न नपर्ने गरी लिखित सम्झौता नै गरियो। समाचार र कार्यक्रमको जिम्मेवारी मेरो र आर्थिक जिम्मेवारी जीबी राईको रहने कुरा सम्झौतापत्रमै स्पष्ट गरियो’, लामिछानेले लेखेका छन्, ‘सम्झौतामा पहिलो पक्षका रूपमा जीबी राईले, दोस्रो पक्षका रूपमा मैले र साक्षीका रूपमा छबिलाल जोशीले हस्ताक्षर गर्‍यौँ। यसरी ग्यालेक्सी फोरके टेलिभिजनमा जोडिएँ। यसअघि जीबी राईको सात पुस्तासँग र उनी सम्बद्ध कुनै व्यापारी, व्यवसायी, परिवार, आफन्तसँग मेरो सात पुस्ताको नातागोता, चिनजान, भेटघाट, सम्पर्क, व्यापार, व्यवहार केही थिएन।’

२०७७ फागुन ११ गते पाँचतारे होटलमा भव्य समारोहका बीच उद्घाटन गरिएको ग्यालेक्सी टीभीमा लामिछाने प्रबन्ध निर्देशक बनेका थिए। विभिन्न सहकारीबाट लगिएका रकम त्यही टीभीमार्फत अपचलन गरेको अभियोग रविलाई लागेको हो। तर उनी २०७९ असार १ गते ग्यालेक्सी टीभीबाट राजीनामा दिँदै राजनीतिमा हाम्फालेका थिए। 

रविले पत्रका लेखेका थप कुरा तलका लिंकमा-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad