राजनीति


जेलबाट रविको खुलासा: सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म कसैले नमानेपछि आफैँ सभापति भएँ

जेलबाट रविको खुलासा: सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म कसैले नमानेपछि आफैँ सभापति भएँ

नेपालखबर
असार ७, २०८२ शनिबार ११:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म विभिन्न व्यक्तिलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको दाबी गरेका छन्। 

पार्टीको तेस्रो स्थापना दिवसका दिन असार ७ गते भैरहवा जेलबाटै लिखित सन्देश जारी गर्दै रविले उक्त कुरा खुलाएका हुन्। 

‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्म, यस्ता कैयौँ व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैँ सभापति भएर पार्टी दर्ता गरेको हुँ’, उनले सन्देशमा लेखेका छन्, ‘पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस् भनेर कैयौँ ढोकाहरू ढकढक्याएँ। तर, मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मानेनन्।’ 

यस क्रममा सभापति लामिछानेले जनताले रास्वपालाई चौथो ठूलो पार्टी बनाएको उल्लेख गर्दै करिब ११ प्रतिशत समानुपातिक मत पाएको स्मरण पनि गरेका छन्। 

‘नयाँले पनि के नापे?’ प्रश्नमा उनले भनेका छन्, ‘हो, अपेक्षा गरेजति नभएको पक्कै होला तर म सोध्न सक्छु– परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा रवि लामिछानेले व्यापारी र माफियालाई बेच्यो त? समानुपातिक मत भनेको नेतालाई बेचेको मतजस्तो बुझिन्थ्यो। नेताले या परिवार, नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यपारीलाई बेच्थे। त्यसै गर्‍यो त रास्वपाले? प्रत्यक्षमा जस्तै रास्वपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु– एसिड आक्रमणमा परेकी विन्दबासिनी कंसाकारलाई कहिल्यै संसद्‌मा लैजान्थे यिनीहरूले?’

उनले अगाडि लेखेका छन्, ‘परदेश छोडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिल्यै अटाउने थिइन्? स्थापित भनिएकाहरूले कहिले दिन्थे मनीष झा र सन्तोष परियारहरूलाई पालो? देशको अर्थतन्त्र जर्जर हुँदासमेत डा. स्वर्णिम वाग्लेजस्तो विश्वले मानेको अर्थविद्लाई लत्याएकाले कहिले चिन्थे डा. चन्दा कार्कीहरू? यिनीहरूले कहिल्यै प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसिमा र सोबिताजस्ता भर्भराउँदा युवालाई? माफियालाई टिकट बेच्नेहरूले कहिल्यै मौका दिन्थे त हरि ढकालहरूलाई? मन्त्री बनाउँथे त विराजभक्त श्रेष्ठ, शिशिर खनालजस्ता क्षमतावान् युवालाई?’ 

वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति–विसंगति सम्बोधन गर्ने गरी आफूहरूले नयाँ पार्टी बनाएको जिकिर उनले गरेका छन्। 

लामिछानेले अगाडि भनेका छन्, ‘आज रास्वपाबिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad