राजनीति


प्रमुख प्रशासकीय अधिकृतलाई जसरी पनि रोक्ने बालेनको ढिपीले काठमाडौँ महानगरको बजेट अन्योलमा

प्रमुख प्रशासकीय अधिकृतलाई जसरी पनि रोक्ने बालेनको ढिपीले काठमाडौँ महानगरको बजेट अन्योलमा

नेपालखबर
असार ३, २०८२ मंगलबार १७:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न तयार भएका छन्। 

स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थाको दबाबमा परेका बालेनमाथि कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुले पनि निरन्तर दबाब बढाई रहेका थिए।

दुईथरी दबाबका कारण बैठक बस्न तयार भएका बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिना नै बैठक राख्ने सर्त राखेका छन्। स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव हुन्छन्।

मेयर शाह र अन्य जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँबीच तनाबपूर्ण सम्बन्ध रहेकाले उनले समितिको बैठक अहिलेसम्म बोलाएका थिएनन्। मेयर समितिको संयोजक रहन्छन्।

तर, समितिका सदस्य सचिव गुरागाईँबिना नै बैठक राख्ने मेयर शाहको सर्तले उक्त बैठक पनि अन्योलमा पर्ने निश्चित भएको स्रोतको भनाइ छ। सदस्य सचिव अनिवार्य हुनुपर्ने बैठकमा उनलाई नै  ‘बाइपास’ गर्न खोजेपछि बैठक बस्ने, नबस्नेमा अन्योल बढेको महानगर स्रोतले जानकारी दियो।

समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरु नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी  महर्जन, अनिता कार्की डोली रहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बिगत ७ महिनादेखि बस्न सकेको छैन। 

बजेटको सम्मुखमा नगरसभा बैठक पनि बस्नै पर्ने बाध्यता छ। तर, मेयर शाह भने अन्य जनप्रतिनिधि र कर्मचारीसँग द्वन्द्व बढेपछि कार्यपालिका र नगर सभा दुबै बैठक बोलाउन आनाकानी गर्दैै आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad