काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्। आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध पाण्डे अदालत पुगेका हुन्।
पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको थियो।
महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि अध्ययन गरिरहेको छ।
काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो।
काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ।
Shares

प्रतिक्रिया