सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडी ग्रुपको एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर केन्द्रीय सदस्यका रूपमा साझा पार्टीमा आवद्ध भएका छन्।
संयुक्त राज्य अमेरिकाबाट अन्तरार्ष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्धी अर्यालले गत १८ वर्ष यता विभिन्न अन्तराष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। क्युइडि ग्रुपका निर्देशक हुनअघि उनी मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि/युएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार भूमिकामा काम गरेका छन्। पछिल्ला केही वर्षदेखि उनी म्यानमार आधारित भएर काम गरिरहेको थिए।
उनले सन्सारका दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तिय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यानवयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।
संयुक्त राष्ट्र संघ लगायतका अन्तराष्ट्रिय दाताहरू, नागरिक समाज र विकास संस्थाहरूसँग सम्मन्वय गरेर काम गर्दै आएका अर्याल भन्छन्, 'मैले एउटा इमानदार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन। त्यसका लागि नेपालीहरूले बढ्दोरूपमा आशा र विश्वास गरिरेहका साझा पार्टी निर्माणमा सहभागि हुनुबाहेक अर्को विकल्प थिएन। म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा सरिक हुनेछु।'
उनको पार्टी प्रवेशबारे साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, 'एकै पुस्तामा नेपालको रूपान्तरण गर्न हामीलाई सबै नेपालीहरूको साथ र सहयोगको खाँचो छ। सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ।'
Shares
प्रतिक्रिया