राजनीति


विरोधको स्वरूप फेर्ने रास्वपाको तयारी, अवरोध जारी राख्न रविको निर्देशन

विरोधको स्वरूप फेर्ने रास्वपाको तयारी, अवरोध जारी राख्न रविको निर्देशन

फाइल फोटो


सागर न्यौपाने
असार १, २०८२ आइतबार २२:४६, काठमाडौँ

प्रमुख प्रतिपक्षले अडान छाडेसँगै सभामुख देवराज घिमिरेले पेलेरै संसद् चलाएपछि गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जारी राख्ने बताएको छ। गृहमन्त्रीमाथि छानबिन गर्ने भरपर्दाे आधार नहुँदासम्म विरोध भइरहने सो पार्टीका सांसदहरू बताउँछन्।

यद्यपि, विरोधको स्वरूप भने बदलिन सक्ने उनीहरूको भनाइ छ।

नाराबाजी र बेल घेराउले मात्र नहुने भएपछि नयाँ ढंगले संसदमा विरोध गर्नुपर्ने निचोडमा पुगेको नेताहरू बताउँछन्। 
आइतबार पनि उसका सांसदले विरोध जनाएका थिए। तर, सभामुखले संसद् रोकेनन्। 

पहिलेदेखि रास्वपाले राखेको सर्त मान्न कांग्रेस—एमाले तयार छैनन्। तर, रास्वपासँगै जेठ १३ गतेदेखि विरोधमा उत्रिएको प्रतिपक्ष दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समेत शुक्रबार (जेठ ३०) बाट पछि हटेका छन्। माओवादी कांग्रेससँग मिल्न गए पनि आफूहरू भिजिट भिसा प्रकरणलाई निष्कर्षमा पुर्‍याउने दाबी रास्वपाका नेताहरूको छ। 

आफूहरूसँग भएको छलफल अनुसार सभामुखले संसद् नचलाएकोमा उनीहरू रुष्ट छन्। 

आइतबार संसद् बैठक सुरु हुनेबित्तिकै रास्वपाका सांसदहरू आफ्ना ठाउँबाट उठे। तर, सभामुखले बैठकको कार्यसूची अगाडि बढाए।

आक्रोशित हुँदै रास्वपाका सांसदले बेल घेरे। अनि नाराबाजी गरे। तर, संसद् रोकिएन। बरु बजेटमाथि छलफल अघि बढाउन सभामुखले सत्तापक्षका सांसदलाई समय दिए।

रास्वपाका सांसदहरूले नारा थप चर्काए। झण्डै एक घण्टा बेल अगाडि नाराबाजी गर्दा पनि संसद् नरोकिएपछि भुइँमै बसेर विरोध जनाइरहे।

पाँच घण्टासम्म संसद् चलिरह्यो। सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदलाई सभामुखले बोल्न समय दिए। तर, रास्वपाको मागप्रति चासै दिएनन्। 

दुई तिहाइको बलमा संसदीय मान्यता विपरीत पेलेरै संसद् चलाउने भएपछि विरोधको मोडालिटी परिवर्तन गर्न लागेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन्।

‘विभिन्न विकल्प छन्। आजको जस्तो विरोध भोलि नहुन सक्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘भिजिट भिसा प्रकरणको अध्ययन, अनुसन्धान र छानबिन हुनुपर्छ  संख्या कम भयो भनेर यो मुद्दा छोड्ने होइन।’ 

सरकारबाट वार्ता भएर आफूहरूको कुरा सुनुवाइ नभएसम्म विरोध रोकिने सम्भावना नभएको उनले ठोकुवा गरे।

‘जहिलेसम्म सरकारले सुन्दैन, अगाडि बढाइरहन्छौँ,’ श्रेष्ठ भन्छन्, ‘हामीले विरोध गर्दा सुसंस्कृत तवरले गर्ने भनेका छौँ।’

रास्वपाका सांसद शिशिर खनालले पनि सो कुरा स्वीकार गरे। 

‘मोडालिटी फरक गर्छौं, सधैँ नाराबाजी गर्ने कि नगर्ने? सधैँ बसिराख्ने नराख्ने?’ खनालले भने, ‘बहिस्कार गर्ने, मौन बस्ने हुनसक्छ।’

यद्यपि, संसद् बस्ने दिनको बिहान बैठक बसेर परिस्थितिको आकलन गरी रणनीति तय गर्ने उनी बताउँछन्। आइतबार गरिएको विरोध कार्यक्रम प्रभावकारी हुन नसकेको र सांसदहरूले ‘बढी हैरानी खेप्नुपरेको’ एक सांसदले बताए।

आइतबार केही सांसदले त खाना समेत खान नपाएको गुनासो गरेका थिए।

‘बिहान सभामुखसँग छलफल हुँदा हामीलाई बोल्न दिने, हामीले शून्य र आकस्मिक समय चलाउन दिने त्यसपछि नियमित कार्यसूचीमा रास्वपाले विरोध जनाउने समझदारी भएको थियो। तर, त्यहाँ गइसकेपछि त्यस्तो भएन,’ उपनेता श्रेष्ठले थपे, ‘अनि हामी बेल घेर्न गएका हौँ।’

सभामुखको भूमिका उनीहरूलाई चित्त बुझेको छैन। 

‘अहिले सभामुखले सामान्य रूपमा पनि चलाइदिनुभयो। सानो संख्या छौँ, पेलेरै जाने हो कि भन्ने आज देखिएको छ। पेलेरै जाँदा हामीले सकेसम्म यो मुद्दालाई निरन्तर बोकिराख्छौँ, तर, संसदमा त संख्याले पनि अर्थ राख्छ नि त। त्यसकारण मुद्दालाई ओझेल पर्न नदिनेगरी निरन्तरता दिने नै भन्ने छ, त्यसमाथि भिजिट भिसा प्रकरण उठाएपछि कांग्रेस, एमालेसहित विभिन्न दलका माननीयले यो मुद्दा महत्त्वपूर्ण छ क्यारी गरौँ भन्नुभएको छ,’ एक सांसदले भने।  

रास्वपाले खोजिरहेको छ– सुरक्षित अवतरण 
माओवादी र एकीकृत समाजवादीले साथ नदिएपछि रास्वपाले एक्लै भएपछि भिजिट भिसा प्रकरणलाई नछोड्ने अडान लिएको नेताहरू बताउँछन्। यद्यपि, संख्या थोरै हुँदा र त्यसको प्रभावकारिता नदेखिँदा आफ्ना माग बलशाली नहुने भय रास्वपाका नेताहरूलाई छ। 

अब यसको सुरक्षित अवतरण चाहेको एक सांसदले बताए। यदि सरकारले संवादको वातावरण बनाएर प्रक्रिया अघि बढाइदिएमा संसदको गतिरोध अन्त्य गराउन सकिने उनीहरूको भनाइ छ। 

‘कि प्रधानमन्त्री नभए, कसैलाई प्रतिनिधि बनाएर छलफल गर्नुपर्ने हो। त्यो पहल नै भएन, संवाद नै नभइकन कहाँ ल्यान्डिङ गर्ने? सरकार वा सत्तापक्षबाट संवाद हुनुपर्‍यो,’ रास्वपाका ती सांसदले भने, ‘भिजिट भिसा प्रकरणको सम्बोधन गर्ने विश्वस्त आधार खोजेका हौँ। उच्चस्तरीय चाहियो भनेको अख्तियारले गरेको भन्दा ठूलो भनेका हौँ।’

रविले दिएका छन् अघि बढ्न निर्देशन 
हाल रूपन्देहीमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेले संसदको विरोधलाई निरन्तरता दिन निर्देशन दिएका छन्। 

‘हामीलाई आएको सूचनामा संसदको विरोध नरोक्नू, निरन्तर गरिराख्नू भन्नु भएको छ,’ अर्का एक सांसदले नेपालखबरसँग भनिन्, ‘हाम्रो माग पूरा नभएसम्म कुनै न कुनै ढंगले अगाडि बढाइराख्छौँ, कहिलेसम्म जान्छ भन्ने यकिन छैन। हामीले खोजेको पाँच बुँदाको सम्बोधन हो। यसमा सरकारलाई बढी संवेदनशील बनाएर छानबिनसम्म पुर्‍याउने भन्ने हो।’ 

रास्वपा संसदीय दलका उपनेता श्रेष्ठले शुक्रबारपछि परिस्थिति बदलिएको बताए।

‘अब तेस्रो चरणमा प्रवेश गरेका छौँ, यसलाई निष्कर्षमा पुर्‍याउने हो,’ उनले भने। 

बिहीबारसम्म साथमै रहेको माओवादीले एकाएक मुद्दा छाडेको विषयमा पनि रास्वपाले समीक्षा गरेको छ। 

‘माओवादीको लागि सत्ताको खेल मुख्य हो। हाम्रो लागि सत्ता गौण हो,’ रास्वपाका एक नेताले भने, ‘एमाले र कांग्रेसबीच अन्तरद्वन्द्व सुरु भएको छ। एक महिनामा सरकार ढल्छ। प्रचण्ड र देउवाको भेट हुन थाल्यो, यही भएर माओवादीले पछि हटेको हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad