राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले ऐनकानुन संसद्ले बनाउने कि संघसंगठनले भन्दै प्रश्न गरेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शनिबार (जेठ ३१) उनले ऐनकानुन संघसंगठनले बनाउने भए जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन्।
'हामीले विधेयक बनाउने कि संघसंगठनले बनाउने ? यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?,' उनले प्रश्न गरिन्, 'हामीले काम गरेको गर्यै गर्ने अनि त्यसपछि सम्झौता र प्रतिवेदन परिवर्तन गरेर महासंघले गरेको छ भनेर हुँदैन।'
नेताहरू राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको उनले उल्लेख गरिन्। भएका छलफल र सहमति कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन्। त्यो कार्यान्वयनमा नलैजाने भए समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो।
'ईसीजीको महत्त्व कति छ भनेर राजनीतिक भाषणचाहिँ दिने अनि त्यसमा कुनकुन कानुनहरूले काम गर्छ भनेर गर्न लगाउने,' उनले भनिन्, 'तर, भएका छलफलहरू कार्यान्वयनमा नजाने हो भने किन छलफल गर्ने ? निजीमा राम्रो र सार्वजनिकमा झुर भन्ने हुन्छ ?'
हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने भनेर जवाफ मागिए पनि प्राप्त नभएको उनले सुनाइन्। 'विभिन्न खालका शिक्षकको मानक कहाँ हुन्छ ? यी विभिन्न प्रकारका शिक्षकहरूको मापिङ के हुन्छ भनेर मागेको विषय हो। पटक–पटक तथ्यांक मागिएको तर त्यो तथ्यांकको वर्कआउट अहिलेसम्म आएको छैन,' उनले भनिन्।
उनले अगाडि भनिन्, 'अब अंग्रेजी उखानअनुसार कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने ? भन्ने मेरो प्रश्न छ।'उनले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझै पनि स्पष्ट रूपमा उल्लेख हुन नसकेको टिप्पणी गरिन्।
Shares

प्रतिक्रिया