परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले एक करोडसम्म लगानी गरेर मानिसहरु विदेश जाने गरेको बताएकी छन्। आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै यस्तो बताएकी हुन्। उनले शिक्षक भएको मान्छे पनि जागिर छाडेर विदेश जाने गरेको बताइन्।
‘हामी नेपालीहरु सिधा पनि हो, अनभिज्ञ पनि हुँदारहेछौँ। एक करोड तिरेर जाने मान्छे, एक करोड यहाँ लगानी गरेको भए त कति धेरै काम हुनसक्थ्यो,' उनले भनिन्, 'जसलाई जब चाहिएकै छ, हाम्रो अपेक्षा एकदमै हाई छ। यहाँ टिचर भएको मान्छे पनि जागिर छाडेर विदेश जाने तर्खरमा लाग्दैरहेछ। यसमा चाहीँ हामी सबै जनाले यहीँभित्र रोजगार सिर्जना गर्नुपर्छ भनेर अहिलेको सरकार लागेको छ।’
नेपालबाट गैरकानुनी रुपमा विदेश पुगेका खासगरी महिलाहरु एकदमै जोखिममा रहेको पनि उनले बताइन्। अहिले त्यस सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको बताउँदै उनले रिपोर्ट आएपछि आगामी नीति बनाइने सुनाइन्।
मान्छेले अवसरको खोजीमा विदेश जाने कुरा आफूहरुले रोक्न नसक्ने, तर जोखिममा रहेकाहरुको मामलामा भने एक्सन लिइने उनको भनाइ छ।
Shares

प्रतिक्रिया