शिक्षण अस्पताल महाराजगञ्जमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर उपचार भवनको डिपार्टमेन्ट अफ पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिनको आईसीयूमा छन् उनी। अक्सिजन सहित बेडमा रहेका उनको धड्कन, रक्तचाप र शरीरको तापक्रप असिलोस्कोपले निगरानी गरिरहेको छ। क्रिटिकल केयर र मेडिसिनको डाक्टर छिनछिनमा आइरहन्छन्।
आईसीयूमा भएकाले कमै मान्छे भेट्न आउँछन्। बाहिर आफन्त कुरिरहेका छन्। १० दिनदेखि दृश्य यही छ।
जतिबेला पनि अवस्था गम्भीर हुन सक्ने भएकाले उनलाई आईसीयूमै राखिएको डाक्टरको भनाइ छ। उनी हुन्, राजनीतिज्ञ, दार्शनिक, चिन्तक र समालोचक मोहन वैद्य। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव उनी अहिले सिकिस्त बिरामी परेर उपचार गराइरहेका छन्।
एक त दम, त्यसमाथि निमोनिया भएपछि उनलाई साह्रै चापेको डाक्टरको भनाइ छ। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार तत्काल बेडमा सार्ने र डिस्चार्ज गर्ने अवस्था छैन।
‘दम र छातीमा संक्रमण भएकोले भर्ना गरेर उहाँको आईसीयूमा उपचार भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म स्वास्थ्य अवस्था स्थिर छ।’
अझै केही दिन आईसीयूमै उपचार गर्ने उनले बताए।
अघिल्लो वर्ष पनि निमोनिया भएपछि उनको लामो समय टिचिङ अस्पतालमै उपचार गरिएको थियो। एक महिना उपचार गरेर घर फर्किएपछि पनि उनलाई बेलाबेला अक्सिजनको सहारा आवश्यक भयो।
उनका आफन्तले नेपालखबरलाई दिएको जानकारी अनुसार पाँचसात घण्टा अक्सिजन दिने, फेरि दुईतीन घण्टा छुटाएर खाना खुवाउने गरिँदै आएको थियो। उनी अलिअलि हिँडडुल गर्न थालेका थिए।
आमा बिरामी भएको खबर पाएर वैशाख २४ गते दाङ गएका थिए उनी। भोलिपल्ट उनकी आमाको मृत्यु भएपछि चारपाँच दिन उतै रहनुपर्यो, जसले गर्दा उनको अक्सिजन छुट्यो। त्यसपछि दम बढ्यो र निमोनिया भयो।
त्यही भएर हतारहतार काठमाडौैँ ल्याएर शिक्षण अस्पतालमा उनको उपचार थालियो।
‘डाक्टरले पनि संक्रमण निको हुन्छ भनेर शान्त तरिकाले उपचार गरेका थिए। तर, लामो समय भएपछि पार्टीले वक्तव्य निकालेर जानकारी दिएको हो,’ कार्यवाहक महासचिव सीपी गजुरेलले भने, ‘निमोनिया निको हुन समय लाग्दो रहेछ। पहिला पनि यस्तै भएर उपचार गरिएको थियो।’
उनका अनुसार ७९ वर्षीय वैद्यलाई दम भएको लामो समय भइसक्यो। तर, यसरी साह्रो पारेको थिएन।
२०७८ कात्तिकमा नर्भिक अस्पतालमा तीन दिन बसेर उपचार गरेपछि स्वास्थ्यमा निकै सुधार आएको थियो।
निको हुनेबित्तिकै उनले राजनीतिक गतिविधि तीव्र पारे। ठाउँठाउँ गए, भाषण गरे, संगठन बनाउन खटिए। तर, उनको दौडधुपले फेरि स्वास्थ्य बिगार गर्यो। २०८० पुसमा फेरि च्याप्यो। सास फेर्न कठिन भएपछि शिक्षण अस्पताल भर्ना गरियो। त्यसबेला एकहप्ता आईसीयूमै राखिएको थियो।
निको भएपछि घर फर्किएका वैद्यले फेरि पार्टी कामलाई निरन्तरता दिए। २०८१ पुस ११ गते उनी फेरि बिरामी परे। आफन्तले टिचिङ पुर्याए। तत्काल आईसीयूमा राखियो। एक महिना लामो उपचारपछि उनलाई सन्चो भयो र माघ १५ गते डिस्चार्ज भए।
घर आएपछि केही दिन आराम गरे पनि उनले पार्टी कामलाई फेरि निरन्तरता दिए।
यसपटक श्वास–प्रश्वास र मुटुको चालमा समस्या देखिएपछि जेठ १८ देखि उनी शिक्षण अस्पतालमा उपचाररत छन्।
कार्यवाहक महासचिव गजुरेलका अनुसार वैद्यको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर छ। गजुरेलले जेठ २५ गते विज्ञप्ति जारी गरेपछि वैद्यलाई भेट्न अस्पताल पुग्नेको लर्काे लाग्न थालेको छ।
मंगलबार (जेठ २७) गते बिहानै सभामुख देवराज घिमिरेसहित केही सांसद उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका थिए।
उच्च कदका सरल नेता
वैद्यसँग काम गरेकाहरू उनको सरल जीवन र उच्च विचारबाट प्रभावित भएको बताउँछन्। सौम्य, सादा र सरल जीवनशैली उनको परिचय हो।
राजनीतिमा ‘किरण’ र साहित्यमा ‘चैतन्य’ नामले परिचित वैद्य उच्च कदका नेतामा पर्छन्।
समकालीन नेतामध्ये राजकीय पद नलिएका दुर्लभ व्यक्तिमा पर्छन् उनी। कम्युनिस्टहरू इमानदार, मितव्ययी हुनुपर्ने उनको भनाइ छ।
वैद्यलाई लाग्छ, चुनावदेखि चुनावसम्मले मुलुकका जनताको समस्या समाधान गर्दैन। त्यही भएर उनलाई चुनावमा भाग लिनेगरी पार्टी बनाउन मन लाग्दैन।
शशिधर वैद्य र जानुका वैद्यका सात छोरा र एउटी छोरीमध्ये पहिलो सन्तान उनी २००३ साल साउन १५ गते प्युठान खैरा गाउँको कुसुमारूखमा जन्मिएका हुन्।
उनका पुर्खाहरूले प्युठानका राजाहरूको उपचार गर्थे, जसका कारण वैद्य थर लेख्ने चलन बस्यो। उनले पनि पोखरेल नलेखी वैद्य नै लेख्न थाले।
१८ वर्षको उमेरदेखि कम्युनिस्ट पार्टीमा सक्रिय भएका उनको जीवनको आरोहअवरोह गजबकै छ।
२०२५ सालमा उनी पाँच महिना जेल परेका थिए।
दाङको जनता महाविद्यालयबाट पूर्वमध्यमा र शास्त्री पास गरेका उनले २०२८ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एमए उत्तीर्ण गरे। केही समय शिक्षक हुँदै प्रधानाध्यापक बनेका उनी जनयुद्धका क्रममा आँखाको उपचार गर्न गएका बेला भारतको सिलगुडीबाट पक्राउ परेर तीन वर्ष जेलमा बिताए।
उनको समालोचकीय धारा माक्र्सवादी सौन्दर्य चेतनाबाट प्रभावित छ।
टुटफुटपछि एक्लिएका वैद्य
वैद्यको नेतृत्वमा नेकपा मशाल थियो। २०४५ सालमा सेक्टर काण्ड असफल भएपछि उनले नेतृत्व प्रचण्डलाई सुम्पिए।
विभिन्न घटकसँग एकता भएर नेकपा माओवादी बन्यो। जसले २०५२ फागुन १ गतेदेखि दीर्घकालीन जनयुद्ध थाल्यो।
जनयुद्ध सुरु भएपछि अघिल्लो तहमा रहेका प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापाको राजनीतिक गुरु जस्तै थिए वैद्य।
२०६३ मा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले ऐतिहासिक विजयी हासिल गर्यो। वैद्य पनि संविधान सभा सदस्य बने। तर, कार्यकाल बाँकी छँदै उनले राजीनामा दिए।
दोस्रो संविधान सभाको चुनाव नहुँदै वैद्यले २०६९ असार ४ गते एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा नेकपा–माओवादी बनाए। पम्फा भुसाल, रामबहादुर थापा र नेत्रविक्रम चन्द लगायत प्रभावशाली नेताले साथ दिए।
तर, २०७३ जेठ १ गते रामबहादुर थापा, पम्फा भुसाल लगायत नेताले फेरि वैद्यलाई छोडेर प्रचण्डकै पार्टीमा फर्किए। वैद्यले नयाँ जनवादीको कार्यदिशा कार्यान्वयन गर्न नसक्ने भन्दै फेरि नेत्रविक्रम चन्दले पनि छोडे।
अहिले उनलाई सीपी गजुरेल, हरिभक्त कँडेललगायत केही पुराना नेताले मात्र साथ दिएका छन्।
वैद्यलाई लाग्छ, संसदीय व्यवस्थाले जनताको काम गर्दैन। त्यही भएर उनी अझै आन्दोलन र क्रान्ति गर्नुपर्ने धारणा राख्छन्। तर, उनलाई मोहनविक्रम सिंहकै पथमा रहेको नेताहरू बताउँछन्।
उनलाई भद्दा, ठूलोभन्दा केन्द्रदेखि इलाकासम्मका सबै नेता–कार्यकर्ताले एकअर्कालाई चिन्नसक्ने सानो, छरितो पार्टी चलाउन सहज लाग्छ।
अस्पतालको शय्यामा पनि उनी सक्रिय रहन चाहन्छन्।
‘उहाँलाई देशको बारेमा बोल्न मन लागिरहेको छ, तर डाक्टर र नर्सले लामो कुरा गर्न दिएका छैनन्,’ गजुरेलले भने।
Shares

प्रतिक्रिया