राजनीति


गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग

गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग

नेपालखबर
जेठ २६, २०८२ सोमबार १४:३२, काठमाडौँ

भूतपूर्व गोर्खा सैनिकहरूले गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरूले गोरखा सैनिकहरूको नेपाली नागरिकताको निरन्तरता र उनीहरूको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन्। देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरूको माग छ।

बैठकमा बोल्दै ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूले अर्को नागरिकता खोजेको नभई भएकै नागरिकताको निरन्तरता चाहेको बताए। उनले गोर्खा सैनिकका सन्ततीले शिक्षा, स्वास्थ्यजस्ता आधारभुत सेवा लिनको बाध्य भएर बेलायतको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरूलाई नेपालको नागरिकता उपलब्ध गराउनुपर्ने माग राखे। 

उनले भने, ‘यदि त्यहाँ गोर्खाको बालबालिकाहरूले नागरिकता लिएन भने राज्यबाट कुनैपनि अधिकार पाउँदैन। ऋणमा अध्ययन गर्नुपर्यो भनेपनि त्यहाँ पैसा पाउँदैन। त्यहाँ कुनैपनि कम्पनीको म्यानेजर हुनुपर्‍यो भने त्यहाँको नागरिक नै हुनुपर्छ। नत्र भने पाइँदैन। त्यहाँ विभिन्न समस्या भएर बालबालिकाहरू त्यहाँको नागरिकता लिन्छन् तर बाउ चाहीँ नेपाली नागरिक नै हुन्छ। समस्या के भयो त भन्दा आर्मीमा काम बिगार्‍यो भने चाहीँ निकालिदिन्छ। त्यस्तो भएको अवस्थामा बाउ चाहीँ नेपाल आउनुपर्‍यो श्रीमती र बालबालिकाहरू लण्डनमा छ। त्यस्तो घटनाहरू पनि भइरहेको छ। उसले १० वर्षसम्म त्यहाँ जान पाउँदैन। यो समस्या त सरकारले बनाएको हो नि। त्यसकारण हामीले अर्को नागरिकता खोजेका होइनौँ हामीसँग भएको नागरिकताको निरन्तरता मात्रै खोजेका हौँ। हरेक वर्ष तीन चार मानिस भर्ती भएर जान्छ।’

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नहुने तर्क गरे। उनले राज्यले कुनैपनि नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने जिकिर गरे।

ब्रिटिस गोरखाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा समेत उनको जोड छ। ज्ञवालीले गोर्खा सैनिकहरूलाई गैरआवासीय भिसा दिएर चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्न नहुने समेत बताए।

आफूहरूलाई पनि नेपाली नागरिक सरह मान्नुपर्ने भन्ने गोरखा सैनिकहरूको माग रहेको बताए। गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम हुने नागरिकता ऐन संशोधन गर्न उनको आग्रह छ। 

उनले भने, ‘गैरआवासीय भिसा दिएर नेपालको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नुभएन भन्ने उहाँहरूको एउटा माग हो। हामीलाई नेपालको नागरिक सरह मान्नुपर्‍यो भन्ने माग छ। अर्को, नागरिकता प्राप्त गरेछन् भनेपनि देशलाई यति योगदान दिएको छ, स्टर्लिङ पाउण्डमा विदेशी पुँजी आउँछ। यहाँको पुँजी पलायन हुन्न यही आउँछ। उनीहरूको सन्ततीहरूले त्यत्रो विज्ञता हासिल गरेका छन्। त्यो पनि यही आउँछ। त्यसकारण उनीहरूले उताको नागरिकता पाएपनि नेपालको नागरिकता समेत पाउनुपर्छ भनेर संशोधनको माग हो। गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम रहोस् भन्ने संशोधन प्रश्ताव हो।’

नागरिकता निरन्तरता अभियान समिति युके–नेपलाका वरिष्ठ सल्लाहकार हिमाल राईले बेलायती सेनामा भर्ती भएका नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानूनी सुविधा हुनुपर्ने माग गरे। 

उनले बेलायती सेनाबाट निवृत्त भएका करिव २२ हजार पूर्वगोरखा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिव २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि पनि माग गरे। 

उनले भने, ‘हामीले केही पनि मागेका छैनौँ, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १० को निरन्तरताको माग गरेका हौँ। विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुनेछ भन्ने ठाउँमा ब्रिटिस गोर्खाको लागि लागू हुनेछ भन्ने लगाइदिनुभयो भने काफी हुन्छ। हाम्रो त्यति माग पुरा गर्नको लागि कन्जुस्याइँ गर्नुहुन्न भन्ने आशा गरेको छु।’

सोमबार समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोरखा सैनिकसँग छलफल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad