ad ad

राजनीति


लकडाउन नियम तोडेकोमा न्युजिल्यान्डका स्वास्थ्य मन्त्रीको घटुवा, आफैँ भन्छन्ः म त पटमूर्ख भएछु

लकडाउन नियम तोडेकोमा न्युजिल्यान्डका स्वास्थ्य मन्त्रीको घटुवा, आफैँ भन्छन्ः म त पटमूर्ख भएछु

नेपालखबर
चैत २५, २०७६ मंगलबार ४:४३,

न्युजिल्यान्डका स्वास्थ्य मन्त्री डा. डेभिड क्लार्कले देशव्यापी लकडाउन नियम उल्लंघन गरेका कारण उनको घटुवा भएको छ।

लकडाउनका बेला उनी परिवारसहित आफ्नो घरदेखि २० किमी टाढा रहेको समुन्द्रछेऊसम्म गाडी चलाएर पुगेका थिए।

उनले माउन्टेन बाइकमा २ किमी पर ड्युनडिन भन्ने ठाउँसम्म पुगेर फोटो पनि सार्वजनिक गरेका थिए।

त्यसको आलोचना भएपछि उनले नागरिकलाई घरमै बस्न आग्रह गरिरहेका बेला त्यसो गर्नु आफ्नो तर्फबाट गल्ति भएको भन्दै सार्वजनिकरुपमा क्षमायाचना गरेका थिए।

त्यसपछि फेरि २० किमी पर परिवारसहित गएको घट्नापछि त उनले आफैलाई पटमूर्खको संज्ञा दिएका छन्।

लकडाउनको नियमअनुसार त्यहाँ औषधी, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किन्नका लागि मात्र कार लिएर बजार निस्कन पाइन्छ। कसरत लगायतका गतिबिधि पनि घर वरिपरि मात्र गर्नुपर्छ।

उनले समुन्द्रछेऊसम्म पुग्ने आफ्नो कदम पूर्णतः लकडाउन नियमको उल्लंघन भनी स्वीकारेका छन्।

‘सबै न्युजिल्यान्डवासीलाई घरमै बसी सहयोग गर्न आग्रह गरिरहेका बेला मेरो यो कदमले उनीहरुको अपमान गरिरहेको छ। म पटमूर्ख नै भएँछु। यसका कारण मानिसहरु मप्रति आक्रोशित हुनसक्ने संभावनाप्रति म सजग छु,’ उनले एक वक्तव्यमार्फत् भनेका छन्। ‘स्वास्थ्य मन्त्रीको रुपमा त मैले नियम पालना गर्ने मात्र नभई न्युजिल्यान्डवासीसामु मैले उदाहरण बन्नु पर्ने... त्यसैले मैले प्रधानमन्त्रीसामु माफी माग्दै मेरो राजिनामा पेश गरेँ।’

प्रधानमन्त्री जेसिन्डा आर्डेनले उनको राजिनामा स्वीकृत त गरिनन् तर उनलाई घटुवा गर्नुका साथै अधिकार कटौती गरेकीछन्।

सह–अर्थमन्त्रीको समेत भूमिका पाएका उनलाई आर्डेनले त्यो जिम्मेवारीबा तुरुन्तै हटाएकी छन् भने मन्त्रिपरिषद्को वरियतामा पुछारमा राखेकी छन्।

राजनीतिक विश्लेषकहरुले यो कोरोना संकट सकिनासाथ उनको पद जाने अनुमान गरेका छन्।

‘सामान्य परिस्थिति भएको भए म स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्ने थिएँ। उनले जे गरे त्यो सरासर गल्ति हो र त्यसमा कुनै माफी हुँदैन,’

आर्डेनले वक्तव्यमा भनेकी छन्। ‘तर, अहिले मेरो प्राथमिकता सबैको साथ सहयोग लिएर कोभिड–१९ विरुद्धको लडाईंमै खटिनु हो। त्यसै कारणले मात्र अहिलेलाई डा. कलार्क सो भूमिकामा कायम रहनेछन्।’

तर उनले नियम उल्लंघन गरेको मूल्य चुकाउनैपर्ने उनले दोहोर्याएकी छन्।

झन्डै २ हप्तादेखि न्युजिल्यान्डमा पूर्णतः देशव्यापी लकडाउन लागु गरिएको छ।

पछिल्लो समय न्युजिल्यान्डले कोरोना भाइरसको संकटलाई नियन्त्रणमा लिँदै संक्रमितको संख्यालाई क्रमशः घटाउँदै लगेको छ। विज्ञहरुले यो भाइरसलाई पूर्णतः उन्मूलन गर्ने न्युजिल्यान्ड एकमात्र पश्चिमी मुलुक हुनसक्ने संभावना रहेको अनुमान गरेका छन्।

- दि गार्डियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .