आइतबार राति प्रहरीको हिरासतबाट छुट्नासाथ राप्रपा नेपालका अध्यक्ष कमल थापा र पार्टीका कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका छन्।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार उनीहरूलाई अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीमा बोलाएर स्वागत गरेका हुन्।

आइतबार दिउँसो राजा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई काठमाडौँको नारायणचौरबाट नियन्त्रणमा लिएको थियो। तर राति राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंहसहित ७ जनालाई छाडिएको हो।
त्यसलगत्तै लिङ्देनले धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा थापा र सिंहलाई स्वागत गरेका हुन्।
पक्राउ परेका आठ जनामध्ये सात जनालाई जिम्मा जमानीमा छाडिए पनि र डा. राजीव झालाई भने अझै हिरासतमै राखिएको छ।
झाले रक्सी खाएर प्रदर्शनका क्रममा अपशब्दसमेत बोलेकाले नियन्त्रणमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि अलग्गिँदै राप्रपा नेपाल ब्युँताएका कमल थापा राजावादी प्रदर्शन सुरु भएयता नजिकिन थालेका हुन्।
हिरासतबाट छुटेपछि कमल थापालगायतलाई स्वागत गर्ने क्रममा राप्रपा केन्द्रीय कार्यालयमा भएको भेलाका केही तस्बिर:





सबै तस्बिर : मोहनकुमार श्रेष्ठ
Shares

प्रतिक्रिया