राजावादीको प्रदर्शनमा निषेधित क्षेत्र तोड्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा हुने भएका छन्। थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक सबैलाई छाड्न लागिएको छ। 'रक्सी खाएर जथाभावी बोल्नेबाहेक सबैलाई आजै रिहा गर्छौँ। एक जनालाई मुद्दा चलाउँछौँ' उनले भने।
प्रहरीका अनुसार रक्सी खाएर प्रहरीलाई दुर्व्यवहार गर्ने डा राजिव झा हुन्। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको छ। अरुलाई चाहिँ आजै पूर्ण स्वास्थ्य परीक्षण गरेर जिम्मा लगाउन लागिएको हो।
कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना अहिले परिसरको हिरासतमा छन्। उनीहरू केहीबेरमा छुट्नेछन्।
जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा प्रदर्शनमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया