नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युतको प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने जिकिर गरे।
सभापति देउवाले पेट्रोलियम पदार्थको सट्टा विद्युतबाट नै धेरै कामहरु गर्न सकिने बताए। सभापति देउवाले विद्युतीय सवारीहरुको प्रयोग बढाउनुपर्ने र विद्युतीय सभाग्रीहरु पनि बढी उपयोग गर्न जरुरी रहेको बताए। यसले जलवायु परिवर्तनका असर न्युनिकरणमा मद्दत पुग्ने उनको भनाइ छ।
सभापति देउवाले भने, ‘पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता पनि हो। तसर्थ व्यापार घाटामा मात्र होइन, अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ। त्यसैले पेट्रोल पदार्थको सट्टा विद्युतबाट नै हामीले धेरै कामहरु गर्नसक्छौँ। विद्युतीय सवारीहरु बढाउनु पर्छ। अरु धेरै कुराहरु गर्न सकिन्छ।’
सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिंचाई र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वनय, हिमतालहरुको संरक्षणका साथै हिमालको फोहोर व्यवस्थापनमा स्थानीय जनस्तरसम्म पुग्ने अनुकुलका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए।
‘सहजताको नाममा प्लास्टिकको प्रयोग नगरौँ’
सभापति देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्पिक साधनहरूको प्रयोग गर्न आग्रह गरे।
उनले पुनः प्रयोग हुनसक्ने प्लास्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताए। देउवाले सहजताको नाममा प्लास्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको बताए। यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे।
सभापति देउवाले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्बन उत्सर्जन तिब्र कटौति गर्न पनि उत्तिकै आवश्वक रहेको बताए। नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील रहेको भन्दै नेपालले यसको प्रभाव भोगिरहेको बताए। नेपालले जलवायु न्यायको लागि विश्व समुदायसँग राष्ट्रको स्पष्ट धारणा राख्न आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया