राजनीति


गृहमन्त्रीले राजीनामा नदिने ओलीको अडान

‘प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन’
गृहमन्त्रीले राजीनामा नदिने ओलीको अडान

नेपालखबर
जेठ १७, २०८२ शनिबार १०:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीप्रिति प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्। 

कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथुन’ शुभारम्भपछि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकलाई कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने जिकिर गरे। 

‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन।’

उनले थपे, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन, त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ मिलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

उनले बच्चाहरूले झोला वा खेलौनौ हात्ती किनिदेऊ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊ भन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए। 

कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकांक्षा-ध्रुवीकरण  हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घरझगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिस्टर्ब नगर्न पनि प्रधानमन्त्री ओलीले चेतावनी दिए। 

संसद्‌मा प्रस्तुत बजेटका सन्दर्भमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले आएको दाबी गरे। 

‘हामीलाई त्यसै पपुलिस्ट हुनु छैन। राम्रा काम गर्नु छ। यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो। गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो। माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो। हामी त्यस्तो गर्दैनौँ’, उनले भने, ‘हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ। पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad