सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने गरी डीआईजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गर्न सिफारिस गरिएको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा बढुवा गर्न दोस्रो नम्बरका डीआईजी ठाडा मगरलाई सिफारिस गरेको हो। उनीभन्दा डीआईजीको बरियतामा कमल गिरी थिए। तर गिरीलाई छुटाएर ठाडा मगरलाई एआईजी बनाइएको हो।
बिहीबार नै पहिलो चरणमा बसेको बढुवा समितिको बैठकमा सहमती जुट्न नसकेपछि फेरि बेलुका बैठक बोलाइएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले ठाडा मगरलाई नै एआईजीमा बढुवा गर्नु पर्ने अडान लिएका थिए।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो नम्बरमा रहेका कमल गिरीलाई नै एआईजी बढुवा गर्नु पर्ने अडान राखेपछि बिहीबार दिउँसोको बैठकमा निर्णय हुन सकेको थिएन। तर बेलुका थप छलफल पछि ठाडा मगरलाई नै एआईजी बनाउन सिफारिस गरिएको हो।
एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ।
अरु दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए।
तर कमल गिरी र ठाडा मगरको प्रतिस्पर्धाले एआईजी बढुवामा ढिलाई हुँदै आएको थियो। यसअघि एसएसपीसम्म ठाडा मगर गिरी भन्दा वरियतामा अगाडी थिए। तर डीआईजीमा कमल गिरी अगाडी लागेका थिए।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आईजीपी बन्नेछन्।
यी दुईमध्ये जो आईजीपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछिको आईजीपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित जस्तै छ।
अहिले एआईजी नभएका तीन डीआईजी भने आगामी पुस २३ गते अनिवार्य अवकाश हुनेछन्।
ठाडा मगरसँगै कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एकसाथ डीआईजी भएका थिए।
उनीहरू नेपाल प्रहरीको प्रहरी निरीक्षनकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा सरेका थिए। गत पुसमै डीआईजीको पदावधि पूरा भएपनि सरकारले एक वर्षे पदावधि थप गरेको थियो। थप भएको पदावधि पनि पुसमा पूरा हुने तर एआईजी नबने डीआईजीहरु अवकास हुने भएका हुन्।
Shares

प्रतिक्रिया