राजनीति


प्रसाईंबाट पार नलागेपछि लिङ्देन-थापालाई ज्ञानेन्द्रको मलजल, पाउलान् त प्रतिफल?

प्रसाईंबाट पार नलागेपछि लिङ्देन-थापालाई ज्ञानेन्द्रको मलजल, पाउलान् त प्रतिफल?

सीताराम बराल
जेठ १५, २०८२ बिहिबार २१:३४, काठमाडौँ

राजतन्त्र पुनर्स्थापना पक्षधरहरू ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्छन्, आफूलाई ‘राजावादी’ का रूपमा चित्रण गर्छन्। काठमाडौँको तीनकुनेमा १५ चैत्र (२०८१) मा भएको हिंसात्मक झडपअघि यिनै ‘राजावादी’ खेमाका नेतृत्वकर्ताहरू कमल थापा (राप्रपा नेपाल), राजेन्द्र लिङ्देन (राप्रपा) र केशरबहादुर विष्ट (राष्ट्रिय शक्ति नेपाल) निर्मल निवासको दबाबमा थिए। 

किनभने, १५ चैत्रअघि निर्मल निवासलाई ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने ‘राजतन्त्र पुनर्स्थापना’ को आन्दोलन थापा, लिङ्देन र विष्टले हाँक्न सक्छन् भन्ने विश्वासै थिएन। विष्टको हकमा चाहिँ के थियो कुन्नि! थापाले पूर्वराजालाई नभेटेको तीन वर्ष भइसकेको थियो। राप्रपा अध्यक्षमा थापालाई हराउन निर्मल निवासले अघि सारेका लिङ्देनले समेत शाहलाई ६–८ महिना यता भेट्न पाएका थिएनन्।   

१५ चैत्रको तीनकुनेको झडपपछि राजतन्त्र पुनर्स्थापना पक्षधर थप कमजोर भए। तर, राजावादीभन्दा अप्ठेरो र प्रतिरक्षात्मक स्थितिमा ज्ञानेन्द्र शाह पुगे। यसर्थ कि, तीनकुने हिंसाका खलनायक दुर्गा प्रसाईं अघिल्लो दिन निर्मल निवास पुगेका थिए, त्यहाँ दुईघण्टा बिताएका थिए। त्यहाँबाट फर्केलगत्तै उनलाई राजावादी आन्दोलनको ‘कमान्डर’ घोषणा गरिएको थियो र  तीनकुने हिंसा उनकै नेतृत्वमा भएको थियो।  

तीनकुने हिंसापछि पक्राउ नपरेको भए त्यसयता दुर्गा प्रसाईंले निर्मल निवासको साथ–सहयोग पाउँथे–पाउँथेनन्, त्यो भिन्दै कुरा हो। तर, तीनकुने घटनापछि प्रतिरक्षात्मक स्थितिमा पुगेका पूर्वराजा शाह पछिल्लो समय राप्रपा र राप्रपा नेपाललाई अंगाल्नुपर्ने स्थितिमा पुगेका छन्। र, पछिल्लो समय यिनै राजावादी राजनीतिक दलहरूलाई मलजल गर्न थालेका छन्। 

राजसंस्था पुनर्स्थापना पक्षधरहरूमाथि गरिएको मलजलको प्रतिफल चाहिँ प्राप्त गर्लान् कि नगर्लान्! यो रोचक विषय हो। 

नगरकोटदेखि सोल्टी होटलसम्म
१५ चैत्रको तीनकुने कार्यक्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताहरूको रिहाइका लागि राप्रपाले ७ वैशाखमा काठमाडौँका निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो। यो कार्यक्रमभन्दा दुई दिनअघि पूर्वराजा शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई निर्मल निवासमा बोलाएर ‘लन्च मिटिङ’ गरे। 

राप्रपा नेताहरूसँगको लन्च मिटिङमा पूर्वराजा शाहले दुर्गा प्रसाईंसँग बाहिर प्रचार भएजस्तो सम्बन्ध नरहेको प्रष्टीकरण त दिए नै, तीनकुने घटनाको अघिल्लो दिन प्रसाईंसँग आफ्नो भेट नै नभएको झुटो दाबीसमेत गरे। ‘मैले होइन, निर्मल निवासका कुनै कर्मचारीले चाहिँ भेटेका हुनसक्छन्’ भन्दै तर्किने प्रयास गरे। त्यसदिन भएको ‘लन्च मिटिङ’ को उल्लेखनीय पक्ष थियो, शाहले आफ्नो ‘विश्वास’ र ‘सहयोग’ अबदेखि राप्रपा खेमालाई हुन्छ भन्ने प्रस्ट पारे।

त्यसयता पूर्वराजा शाहले निरन्तर उनीहरूलाई मलजल गरिरहेका छन्। १२–२७ वैशाखसम्म नगरकोट बसाइका क्रममा उनले पालैपालो राजावादी नेताहरूसँग भेट गरे। आन्दोलनको नेतृत्वलाई प्राथमिकता दिनुभन्दा एजेन्डा अर्थात् ‘राजतन्त्र पुनर्स्थापना’लाई प्राथमिकता दिन आग्रह गरे। 

उनको यही उत्प्रेरणापछि २७ वैशाखमा ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीलाई नेता मानेर अघि बढ्न उनीहरू राजी भए। त्यसअघि ४ चैत्रमा जनआन्दोलन समिति गठन गरिँदा थापा, लिङ्देन र विष्टले सुवेदीको नेतृत्व अस्वीकार गरेका थिए। 

नगरकोटबाट फर्केपछि पनि पूर्वराजा शाहले राप्रपा खेमाका नेताहरूसँग भेटवार्ता गर्दै आएका छन्। त्यसमध्ये सार्वजनिक भएको सामूहिक भेटवार्ता ८ जेठको हो। राजावादीहरूले भन्ने गरेको १५ जेठबाट सुरु ‘निर्णायक आन्दोलन’ भन्दा ठीक एक हप्ताअघि उनले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलाई सोल्टी होटलमा निम्त्याएर संयुक्त ‘लन्च मिटिङ’ गराएका थिए। 

खासमा आफूलाई फेरि गद्दीमा फर्काउन आन्दोलन सुरु गरिदिएकोमा ‘आभार’ प्रकट गर्नका लागि उनले आफ्नो समेत सेयर रहेको सोल्टी होटलमा उनले यो ‘लन्च मिटिङ’ आयोजना गरेका थिए, ताकि उनीहरू उत्साहित हुन्, आफ्नो उत्प्रेरणाले उनीहरूमा उत्साह थपियोस्। अर्थात्, राजावादी आन्दोलनलाई ‘मलजल’ गर्न कुनै उनले कुनै कसर बाँकी राखेका छैनन्। ‘निर्णायक’ भनिएकाले आर्थिक सहयोग पनि उनले गरेका हुनसक्छन्। 

अर्थात् जसरी होस्, १५ चैत्रअघि दुर्गा प्रसाईंजस्ता अराजक–अराजनीतिक पात्रलाई मलजल गरिरहेका पूर्वराजा शाह पछिल्लो समय राप्रपा, राप्रपा नेपालतिर फर्केका छन् र उनीहरूको राजनीतिलाई मलजल गरिरहेका छन्। र, उनकै जोडबल र उत्प्रेरणामा पछिल्लो समय उनीहरू एकजुट पनि देखिएका छन्। 

प्रतिफल : धेरै परको कुरा
निश्चय नै थापा, लिङ्देन र विष्ट ‘राजावादी’ नै हुन्। तर, उनीहरूको ‘राजावाद’ आदर्शभन्दा बढी चुनाव जित्ने अस्त्र हो। गणतान्त्रिक संविधान अन्तर्गत उपप्रधानमन्त्री र मन्त्री बनेको घटनाले मात्र होइन, अहिले सांसद र कतिपय प्रदेशमा राप्रपा नेताहरू सभामुख भएको दृष्टान्तले यो कुरा पुष्टि गर्छ। राजतन्त्र उनीहरूको ‘आदर्श’ हुन्थ्यो भने गणतान्त्रिक संविधानले व्यवस्था गरेको संसदमा उनीहरू हुने थिएनन्। राप्रपा नेताहरू सभामुख र संसदबाट राजीनामा दिएर मात्र निर्णायक आन्दोलनमा निस्कने थिए।    

‘राजतन्त्र पुनर्स्थापना’को नाराकै कारण थापा नेतृत्वको राप्रपा नेपालले दोस्रो संविधान सभामा समानुपातिकतर्फ २५ सिट जित्न सफल भएको थियो। यही नाराको आडमा राप्रपाले पनि २०७९ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिक ७ गरी १४ सिटमा विजय हासिल गर्‍यो। यो जितपछि राजतन्त्र पुनर्स्थापनाको मुद्दा ओझेलमा पर्‍यो, सत्ता प्रमुख बन्यो। थापा र लिङ्देन दुवै उपप्रधानमन्त्री भए। 

ठूला राजनीतिक दलप्रति जनतामा आक्रोश अरु बढेको छ। तर, आफूप्रति जनमत आकर्षित गर्ने नारा र एजेन्डा राजावादी दलहरूसँग छैन। जनजीविकाको एजेन्डालाई जनताले पत्याउँछन् भन्ने विश्वास पनि यी दलका नेताहरूलाई छैन। 

त्यसैले, आफूप्रति आकर्षण बढाउन ‘राजतन्त्र पुनर्स्थापना’ गर्ने नारा बोकेर हिँड्नु परेको छ। जबकि जसलाई उनीहरूले पुनर्स्थापना गर्ने भनिरहेका छन्, दुर्गा प्रसाईं पक्राउ पर्नुअघि ज्ञानेन्द्र शाहलाई समेत यिनीहरूले राजसंस्था पुनर्स्थापना गरिदेलान् र गद्दीमा बस्न पाइएला विश्वास थिएन।  

कहिले नवराज सुवेदी–दुर्गा प्रसाईंको त कहिले कमल थापा–राजेन्द्र लिङ्देन  भर पर्नु ज्ञानेन्द्रको बाध्यता पनि हो। ज्ञानेन्द्र शाहका लागि उनीहरू यस्तो परालका त्यान्द्रा हुन्, जसलाई समुद्रमा डुबेको मान्छेले तै यसैको सहाराले बाँचिन्छ कि भन्ने विश्वासमा समात्न खोज्छ। 

जहाँसम्म राजावादी राजनीतिक दलहरूको सवाल हो, ‘राजतन्त्र पुनर्स्थापना’ को नारामार्फत् आगामी निर्वाचनको परिणाममा उनीहरूले पक्कै थप सुधार गर्नेछन्। २०७० मा कमल थापाले निर्मल निवासको विश्वास प्राप्त गरेकै कारण राप्रपा नेपाल र २०७९ मा राजेन्द्र लिङ्देनप्रतिको विश्वासको कारण राप्रपाले निर्वाचन नतिजा सुधार गरेका थिए।

जहाँसम्म निर्मल निवासले फेरि उनीहरूमाथि गरेको मलजलको प्रसङ्ग हो, आगामी निर्वाचन परिणाममा हुने सुधारको फल पूर्वराजा शाहले पाउने छैनन्। किनकि पात्र उनै हुन्, प्रवृत्ति उही हो। र, सबैभन्दा मुख्य कुरा, कमल थापा र राजेन्द्र लिङ्देनले राजनीति आफ्ना लागि गरेका हुन्, ज्ञानेन्द्र शाहका लागि होइन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad