राजनीति


गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि माओवादी बलियो हुनुपर्छ: प्रचण्ड (भिडिओ)

गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि माओवादी बलियो हुनुपर्छ: प्रचण्ड (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ८:३, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्ति बलियो हुनुपर्ने बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्डचले गणतन्त्रलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता भएकोमा जोड दिएका छन्। 

‘गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो,’ प्रचण्डको सन्देशमा भनिएको छ, ‘अहिले एकातिर सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन्। यो बेलामा यथास्थिति र प्रतिगामी दुबैखाले हर्कतकाविरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ।’ 

गणतन्त्रले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको स्मरण गरेका छन्। 

‘गणतन्त्रले सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ। यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ,’ प्रचण्डको सन्देशमा भनिएको छ।

आफ्नो पार्टीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिहरूकोसमेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको पनि प्रचण्डले उल्लेख गरेका छन्। 

प्रचण्डले गणतन्त्र दिवसले सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन प्रेरित गरोस् भन्ने पनि कामना गरेका छन्। 

हेर्नुहाेस् प्रचण्डकाे (भिडिओ) सन्देश

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad