नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रहेको भन्ने सुन्दा अचम्म लागेको बताएका छन्।
‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला’, मंगलबार विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै उनले भने, ‘भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ।’
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा शेखरसहित राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नेबारे छलफल भएको थियो। शेखरलाई सभापति देउवाले काठमाडौँ आइसकेपछि यसबारे छलफल गर्ने पनि बताइएको छ।
भिडिओ हेर्नुहोस्
शेखरले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सार्वजनिक अभिव्यक्ति दिएका थिए।
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा नबोलेकोमा आफूलाई छक्क लागेको बताए।
कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए। कोइरालाले प्रश्न गरे, ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने?’
पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै भन्दै उनले चिन्ता समेत व्यक्त गरे।
Shares

प्रतिक्रिया