राजनीति


गृहमन्त्रीको राजीनामा माग भइरहेका बेला सत्तारुढ एमालेको सचिवालय बैठक बस्दै

गृहमन्त्रीको राजीनामा माग भइरहेका बेला सत्तारुढ एमालेको सचिवालय बैठक बस्दै

नेपालखबर
जेठ ११, २०८२ आइतबार ९:३३, काठमाडौँ

आज सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ।

बैठक दिउँसो २ बजे एमालेको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

एमाले नेताहरूका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो। 

त्यसो त यसअघिकै बैठकका लागि तय केही एजेन्डामा निर्णय गर्न बाँकी नै छ।

गत वैशाख २१ गते बसेको सचिवालय बैठकबाटै एमालेका निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने भनिए पनि फेरि वैशाख २४ गते बैठक बसेर निर्णय गर्ने भनिएको थियो। तर त्यस दिन बैठक बस्न सकेन। 

त्यसको तीन सातापछि आज एमाले सचिवालयको बैठक बस्न लागेको हो। 

अर्को कुरा सत्ता नेतृत्वकर्ता एमालेको सचिवालय बैठक त्यस्तो बेला बस्न लागेको हो, जतिबेला भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री लेखकसमेत संलग्न रहेको आरोप लागेपछि उनकै पार्टी कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरिरहेका छन्। 

यसको चर्चा व्यापक बन्न थालेपछि गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्न लगाई त्यस प्रकरणमा आफू संलग्न नरहेको दाबी त गरेका छन् तर यसबाट सत्तारुढ दलकै नेता सन्तुष्ट हुन सकेका छैनन्। 

एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल सामाजिक सञ्जालमा लेख्छन्, ‘भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले वक्तव्य निकालेरै 'उच्च नेतृत्वको कुनै संलग्नता छैन' भनेछ। अनि गृहमन्त्रीजीले 'प्रमाणित भएमा राजनीति छाड्छु' भन्नुभएछ। यति नभन्दा अन्योल भयो भन्ने लागेर यति भनेपछि सबैलाई स्पष्ट हुन्छ भनेरै त होला। रमाइलो लाग्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad