समाज


औसत मितिभन्दा ६ दिनअघि नै केरला आइपुग्यो मनसुन, नेपालमा पनि चाँडै भित्रिने संकेत

औसत मितिभन्दा ६ दिनअघि नै केरला आइपुग्यो मनसुन, नेपालमा पनि चाँडै भित्रिने संकेत

भारतको केरला क्षेत्र


नेपालखबर
जेठ ११, २०८२ आइतबार १०:११, काठमाडौँ

यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिखअघि नै भित्रिने संकेत देखिएको हो।  

‘तर अहिले यो अनुमान मात्र हो, यो आउने कुरा निश्चित गर्न ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्छ’, मौसमविद् अर्यालले आइतबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले अहिले यो अध्ययनकै क्रममा छ।’

तथापि भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको उनले बताए। 

मौसम महाशाखाले आइतबार सूचना जारी गर्दै भनेको छ: बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ।

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा मनसुन भित्रिने गरेको छैन। कि २/४ दिन ढिलो कि छिटो भित्रिने गरेको छ। 

यसपटक भने औसत मितिभन्दा केही दिनअघि नै मनसुन नेपाल प्रवेश गर्ने संकेत देखिएको हो। तर अहिले नै यसै हुन्छ भनेर ठोकुवा गर्न नसकिने मौसमविद् अर्यालको भनाइ छ। 

गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो। मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ। अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि-मनसुन चलिरहेको छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ। 

यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। 

मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। तर यसमा पनि केही दिन तलमाथि हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad