राजनीति


लेखा समिति बैठकमा सांसदहरूबीच चर्काचर्की

लेखा समिति बैठकमा सांसदहरूबीच चर्काचर्की

नेपालखबर
जेठ ७, २०८२ बुधबार १७:३, काठमाडौँ

सार्वजनिक लेखा समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल एमाले र प्रतिपक्षी दलका सांसदहरूबीच भनाभन भएको छ। आज बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा नेकपा एमाले, प्रतिपक्षी दल माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच चर्काचर्की भएको हो। 

समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोलिरहँदा एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरेपछि केही बेर चर्काचर्की पर्‍यो। 

बैठकमा माओवादी सांसद मोदीले सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल सत्तापक्षको भएकाले उपसमितिले तयार पारेका प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै गर्दा भट्टराईले प्रतिवाद गर्न सुरु गरे। 

योगेशले प्रतिवाद गर्न थालेपछि माओवादीका सांसद मोदीले यसमा एमालेबाहेक छलफल गरौँ भन्ने प्रस्ताव ल्याए। मोदीले भने, 'एमाले पहिले बाेलेपछि हामीले बोल्ने ? एमालेको सबैभन्दा पहिला कसरी बाेल्ने पालाे आयाे ?' 

त्यसपछि मोदीको समर्थनमा स्वतन्त्र सांसद डा. अमरेश सिंह उभिए। सांसद सिंहले सरकारको नेतृत्वकर्ता दल एमालेकै सांसद सभापति हुँदा प्रतिवेदन कार्यान्वयनमा कठिनाइ भएको बताए। 

'जुन दलको नेतृत्वमा सरकार छ, जुन दलको प्रधानमन्त्री हुनुहुन्छ, त्यही दलको सांसद समितिको सभापति हुँदा यो हविगत भयो,' मोदीले भने, 'उहाँले एमालेका सांसदहरूलाई मात्रै बोल्न दिनुभयो।' 

सिंहले मोदीकै भनाइमा सही थाप्दै सभापति पोखरेल पूर्वाग्रही भएको बताएपछि त्यसको जवाफ फेरि पोखरेलले दिए। सभापति पोखरेलले जवाफ दिँदै भने, 'माननीयज्यू गलत रूपमा व्याख्या नगरौँ। बैठकलाई दलीयकरण पनि नगरौँ।' 

एमाले सांसद गोकुल बास्कोटाले तपाईंहरू एमाले भएरै बोलेको हो? भन्ने प्रतिप्रश्न गरेका थिए। त्यसपछि नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले योगेश भट्टराईले दुईपटक कुरा राखेको प्रसंग उठाएका थिए। लगत्तै भट्टराईले प्रश्न गरे, ‘मैले कुरा राख्न नपाउने? मैले कुरा राख्न पाउने/नपाउने तपाईंले डिक्लियर गरिदिने को हो तपाईं?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad