राजनीति


माओवादीलाई कांग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नू

माओवादीलाई कांग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नू

नेपालखबर
जेठ ७, २०८२ बुधबार १७:१३, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा माओवादी केन्द्रसँग आग्रह गरेका छन्।

तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन्। 

उनले समितिमा आएर सधैँ गिजोलिरहनु भन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गरे। अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताए। उनले यही विषयलाई लिएर सधैँ सभापतिलाई दोषारोपण गरिरहन नहुने बताए।

प्रमुख सचेतक घिमिरेले भने, ‘एउटा बुझ्नुपर्ने कुरा के हो भने यो समिति बन्दा भागबण्डै भएको हो। राजनीतिक भागबण्डाको आधारमा समितिहरु भागमा परेका हुन्। सबै दलले आफ्नो आफ्नो जुँगा हेरि भाग भनेको जस्तो भाग पाएका छन्। यो राजनीतिक शिर्ष तहमा मिलेर गरिएको निर्णय हो। यसलाई लिएर सधैँ सभापतिज्युलाई ह्युमलेट गर्नेकुरा राम्रो होइन। अबदेखि आफ्नै नेताहरूसँग गएर कुरा गरौँ।’

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद अमनलाला मोदीले सार्वजनिक लेखा समितिको सभापति विपक्षीको हुनुपर्ने भनेपछि सांसदहरूबीच विवाद सुरु भएको थियो।

सांसद मोदीले समिति सभापति ऋषिकेश पोखरेल सत्तापक्षको भएकाले उपसमितिले तयार पारेका प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने बताए।

‘जुन दलको नेतृत्वमा सरकार छ, जुन दलको प्रधानमन्त्री हुनुहुन्छ, त्यही दलको सांसद समितिको सभापति हुँदा यो हविगत भयो’, मोदीले भने, ‘उहाँले एमालेका सांसदहरूलाई मात्रै बोल्न दिनुभयो।’

मोदीलाई एमाले नेता योगश भट्टराईले प्रतिवाद गरेका थिए।

बैठकमा मोदीको समर्थनमा स्वतन्त्र सांसद डा अमरेश सिंह उभिए भने सभापति पोखरेलको पक्षमा एमालेका सांसद गोकुल बाँस्कोटा र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad