राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सबै राजनीतिक दलहरुको सहमति भए शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै राजसंस्था संस्थागत गर्न सकिने थापाको भनाई छ।
उनले आफूहरूले राजसंस्था पुनः स्थापनाका लागि गर्न लागेको आन्दोलन संविधान विपरित नभएको जिकिर गरे। संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको बताए।
राजनीतिक दलहरूको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने उल्लेख गरे।
उनले भने, ‘संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधिनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ। सबै राजनीतिक दलहरुको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिन्छ, राजसंस्था र हिन्दु राष्ट्र पनि स्थापना गर्न सकिन्छ भन्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ।’
अध्यक्ष थापाले संविधानले अभिव्यक्ति, स्वतन्त्रता र बिना हात हतियार भेला हुने अधिकार जनतालाई दिएको बताए।
Shares

प्रतिक्रिया