सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।
राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिला भइरहेको बताए। ‘संवैधानिक परिषद्को बैठक नियमति हुन नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ हुने गरेको छ,’मन्त्री गुरुङले भने, ‘परिषद् बैठक नियमित बस्ने वातावरण बनाउन जरूरी छ। कुनै पनि कारणले परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन।’
मन्त्री गुरुङले परिषद्ले सकेसम्म सर्वसम्मत सिफारिस गर्ने वातावरण बनाउनुपर्ने, प्रमुख प्रतिपक्ष नियमित बैठकमा आउने र राज्यका काम कारबाहीलाई चुस्तदुरुस्त राख्न सबैले एक भएर काम गर्नुपर्नेमा जोड दिए।
उक्त विधेयकमाथिको छलफलमा माग लिँदै सदस्यहरू भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी मदनकुमारी शाह गरिमा, घनश्याम रिजाल, भगवती न्यौपाने, रेणु चन्द, शुरेसकुमार आलेमगरलगायतले संविधानको मर्म र भावनाअनुसार नै विधेयक संशोधन गर्नुपर्ने धारणा राखे।
Shares

प्रतिक्रिया