राजनीति


नाउपाभित्रको मतभेदकै बीच प्रदेश पर्यटनमन्त्री बनेका रामेश्वरले लिए शपथ

नाउपाभित्रको मतभेदकै बीच प्रदेश पर्यटनमन्त्री बनेका रामेश्वरले लिए शपथ

गोकुल जोशी
जेठ ४, २०८२ आइतबार १९:२६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन। 

यसअघिका नाउपाका पर्यटनमन्त्री लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको अडिओ प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए। रिक्त मन्त्रालयमा नाउपाभित्र विवादकै बीच रामेश्वर मन्त्री बनेका हुन्।

चौधरीलाई संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रीका लागि सिफारिस गरेका थिए। तर नाउपा सांसद खुसीराम चौधरीले दल नेताले छलफल नै नगरी एकलौटी मन्त्री सिफारिस गरेर विधानविपरीत चलेको भन्दै रामेश्वरको शपथ ग्रहण रोक्न मुख्यमन्त्री कार्यालय, संसदीय दल र पार्टी अनुशासन समितिमा पत्र दिएका थिए। 

त्यसपछि शुक्रबार हुने भनिएको शपथ रोकिएको थियो। आइतबार मात्रै पनि खुसीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई संसदीय दलको विधिविपरीत रामेश्वरलाई मन्त्री सिफारिस गरेकोेले शपथ ग्रहण नगराउन पत्र लेखेका छन्।

दलको बैठकले बहुमतका आधारमा दल नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको समेत उल्लेख गरेका छन्। तर घनश्याम दल नेता र समिति सभापति भएको भन्दै पछि हटेर उनैले रामेश्वरलाई सिफारिस गरेका हुन्।

नाउपाभित्र मन्त्री छनोटमा रडाको मच्चिएकै बेला मुख्यमन्त्री शाहले रामेश्वरलाई मन्त्री बताएका हुन। नाउपाका मन्त्रीका विषयमा तीव्र मतभेद छ। सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ सांसद छन्।

तीमध्ये दल नेता धनश्याम रेशम निकट मानिन्छन्। दल नेता धनश्यामले केहीदिन पहिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पत्र लेख्दै रायसहित सिफारिस मागेको थियो। 

त्यसपछि अध्यक्ष श्रेष्ठले बैशाख ३१ मा कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी थिइन्। कैलाश सुरुवातदेखि नै रञ्जितानिकट मानिन्छन्।

रञ्जिताले अघि सारेका कैलाशलाई मन्त्रीमा रोक्न रेशम पक्षले दल नेतासमेत रहेका घनश्यामलाई नै मन्त्री बनाउने गरी छलफल गरेको थियो। तर उनी दल नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकाले पछि हटे। 

त्यसपछि दल नेता घनश्यामले रामेश्वरलाई मन्त्रीमा अघि सारेका थिए। रामेश्वर नाउपाका संरक्षण रेशमलाल चौधरी निकट मानिन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad