राजनीति


भैरहवा विमानस्थलको छानबिन गर्न लेखा उपसमितिको संयोजक बनिन् मञ्जु खाण

भैरहवा विमानस्थलको छानबिन गर्न लेखा उपसमितिको संयोजक बनिन् मञ्जु खाण

नेपालखबर
जेठ ४, २०८२ आइतबार १४:९, काठमाडौँ

भरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिको उपसमिति गठन गरिएको छ। यसअघि एमालेका सांसद योगेश भट्टराई संयोजक रहेको उपसमितिको आज आइतबार बसेको बैठकले कांग्रेस सांसद मञ्जु खाणलाई संयोजक चयन गरेको हो।   

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका भट्टराई नेतृत्वको उपसमितिले विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि विरोध हुँदै आएको थियो। भट्टराईमाथि निरन्तर प्रश्न उठेपछि उनले उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए। 

सार्वजनिक लेखा समितिले गत वर्षको जेठ २७ गते नै निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालनमा आउन नसक्नुको पछाडि निर्माणमै त्रुटि रहेको ठहरसहित अनुगमन र अध्ययनका लागि उपसमिति गठन गरेको थियो। 

यो विमानस्थल राष्ट्रिय गौरवको आयोजनासमेत हो। भैरहवा विमानस्थलको अनियमितता अध्ययन गर्न उपसमिति बनाएकै दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितताबारे छानबिन गर्न राप्रपाका सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति बनाइएको थियो। उक्त उपसमितिले प्रतिवेदन बुझाइसकेको छ। तर उक्त प्रतिवेदनमा पनि प्रश्न भने उठ्दै आइरहेको छ। 
 

तर भैरहवा विमानस्थलबारे निर्माणमा त्रुटि, मुआब्जा निर्धारण र वितरणमा समस्या भएकोबारे प्रश्न उठे पनि भट्टराई नेतृत्वको उपसमिति यसविषयमा प्रवेश नै नगरी प्रतिवेदन बुझाएको थियो। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको बताइएको छ। निर्माणको लगानी सुरुमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड पुगेको थियो। यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको भनिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad