राजनीति


सम्भावित महामारीविरुद्ध युद्धस्तरमा तयारी थालेका छौंः मुख्यमन्त्री राउत

सम्भावित महामारीविरुद्ध युद्धस्तरमा तयारी थालेका छौंः मुख्यमन्त्री राउत

शैलेन्द्र महतो
चैत २१, २०७६ शुक्रबार १२:१,

कोरोनाको सम्भावित महामारी नियन्त्रण तथा उपचारको लागि प्रदेश २ सरकारले युद्धस्तरमा तयारी गरेको जनाएको छ।

लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको र दोस्रो चरणमा महामारी नियन्त्रणका लागि तयारीमा जुटिसकेको प्रदेश सरकारले बताएको छ।

चैत २० गते मात्रै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पीसीआर मेसिन जडान भइ परीक्षण शुरु गरि सकेकोमा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगञ्ज र सप्तरीको राजविराजमा समेत पीसीआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो।

कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० वटा भेन्टिलेटर सहितको आईसीयू तयार गर्न समेत निर्देशन दिइएको छ। जसमा प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५–५ वटा भेन्टिलेटर जडान गर्न निर्देशन दिइएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

यसै गरि निर्देशक समितिले अहिलेको विशेष परिस्थितिमा विगत जस्तो खरिद प्रक्रियाले तैयारी गर्न नसकिने भन्दै खरिद प्रक्रियालाई समेत खुकुलो बनाउने निर्णय गरेको छ। यस निर्णयले खरिद ऐनको विशेष परिस्थिति बमोजिम द्रुत मार्गबाट आवश्यक सामग्रीहरु खरिद गर्न सकिने जनाएको छ।

प्रदेश सरकारले महामारी नियन्त्रणका लागि विशेष रणनीति बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरु सम्मिलित स्वास्थ्य सल्लाहकार समिति समेत गठन गरेको छ।

समितिमा डा राम केवल साह, डा सुरेन्द्र यादव, डा प्रविण मिश्र, डा काशिकान्त झा, डा विजय कुमार सिंह, डा गरिब दास ठाकृुर, डा जेके लाल रहेका छन्। उक्त समितिलाई थप विशेषज्ञहरु राय सुझाव सहित महामारी नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

समितिले निर्देशक समितिको निर्देशन बमोजिम शुक्रबारबाट आफनो काम समेत शुरु गरि सकेको छ। यो समितिले चिकित्सकहरुको लागि प्रोटोकल निर्माणदेखि नियन्त्रणका अन्य उपायहरुबारे आफ्नो सुझाव सरकारलाई दिनेछ।

यसै गरि निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टिनको व्यवस्थापन, आईसीयूको निर्माण, धनुषाको लालगढ स्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिने निर्णय समेत गरिएको छ भने मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टिन बनाउने निर्णय गरेको छ।

बैठकले महामारीसँग लड्न आठ बटै जिल्लामा १–१ वटा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न समेत कार्यकारी समिति र सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए।

उनले भने, ‘अहिलेसम्मको हाम्रो तयारीमा कुनै कमी छैन तर भोलिका दिनमा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै विशेष तयारीमा जुट्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छौं। रकमको अभाव हुन दिँदैनौ।’

बैठकले प्रदेशमा चिकित्सक तथा नर्सहरुको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुट्न समेत समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ।

मुख्यमन्त्री राउतले यसरी स्वयंसेवकको रुपमा भर्ना हुने चिकित्सक तथा नर्सहरुलाई प्रदेश लोकसेवामा थप नम्बर दिइने व्यवस्था समेत गरिन लागेको बताए।

‘अहिलेसम्म हाम्रो प्रदेशको अवस्था ठिक छ। अहिलेको अवस्थामा खासै समस्या हुँदैन तर कहीँ कतै महामारी फैलियो भने त्यस्तो अवस्थाको लागि हामी अहिलेदेखी नै तयारी थालिसकेका छौं’ मुख्यमन्त्री राउतले भने।

विज्ञहरुको टोलीले दिने सुझावको आधारमा प्रदेश सरकार सबै प्रकारको व्यवस्था गर्न प्रदेश सरकार पूर्ण तयारीमा जुटेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad