राजनीति


सीके राउतको दाजुमोह र रेशम–रञ्जिताको तानातानले टर्दै पार्टी एकता

सीके राउतको दाजुमोह र रेशम–रञ्जिताको तानातानले टर्दै पार्टी एकता

सागर न्यौपाने
बैशाख ३१, २०८२ बुधबार ९:२६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष चन्द्र्रकान्त राउतले वैशाख ११ गते सामाजिक सञ्जालमा एउटा सूचना राखे। नागरिक उन्मुक्ति पार्टीसँग वैशाखको २९ गते एकता गर्ने। जबकि, वैशाखको १७ गते नै दुवै दलको एकता गर्ने तय भयो। सोही अनुसार नेताहरूलाई प्रज्ञा प्रतिष्ठान बोलाए।  

तर, कार्यक्रममा जनमत अध्यक्ष राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पुगेकै थिएनन्। नाउपाका संरक्षक रेशम चौधरी पुगेका मात्र थिए, उनलाई पनि प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍यायो।

त्यसपछि एकताको सबै प्रक्रिया रोकियो। यतिसम्म कि, यो १३ दिनको अवधिमा दुई पार्टीका नेताबीच औपचारिक संवाद समेत भएको छैन।

बरु दुवै पार्टीका नेता संगठन बनाउन लागिपरेका छन्। 

के कारणले रोकियो त जनमत–नाउपा एकता? दुवै पार्टीका नेताहरू यसका कारण रहेको बताउँछन्।

दुवै पार्टी आन्तरिक समस्याले ग्रस्त
जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीभित्रका आन्तरिक समस्या हल नगरी रेशम चौधरीसँग एकता गर्ने निर्णय लिएका थिए। जबकि, पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको, निरंकुश कार्यशैली अपनाएको, कारबाहीको डण्डा चलाएको आरोप उनीमाथि लागेको छ।

यस्तै, विचार र अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित पार्न खोजेको भन्दै जनमतका केही पदाधिकारी निष्क्रिय बसेका छन्।

नाउपाभित्र पनि संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद छ। सोही कारण पार्टी गतिविधि अघि बढ्न सकेको छैन। 

एकता गरेर पार्टीको विवाद साम्य पार्ने सबैको दाउ थियो तर, त्यो अवरुद्ध भएको छ।  

‘दुवै पक्षको मुड एकता गर्ने छैन,’ जनमतका एक पदाधिकारीले नेपालखबरसँग भने,  ‘हाम्रो पार्टीमा अध्यक्षले उहाँको दाइलाई हाबी बनाएर समस्या ल्याउनुभयो। नाउपामा श्रीमान्–श्रीमतीको विवाद अहिलेसम्म जारी छ।’ 

‘राउतजी पार्टीभित्र कठिन परिस्थितिमा हुनुहुन्छ। उहाँको दाइभाउजूलाई पार्टीभित्र हाबी बनाउन खोज्नुभयो, त्यही भएर साथीहरू असन्तुष्ट छन्। उहाँको समर्थनमा पदाधिकारी पनि छैनन्। २ जना पदाधिकारीलाई कारबाही गरेर निलम्बन गर्नुभयो। एकजनालाई जेल पठाउनुभयो। भोलि अरु पदाधिकारीमाथि पनि तरबार राखेको देखियो। त्यसमाथि सबै पावर दाइको हातमा सुम्पिनुभयो। त्यही भएर ठूलो निर्णय गरिनहालौँ भन्नेमा पुग्नुभएको हो,’ उनले थपे। 

रेशमलाई ल्याएर पार्टीको विवाद साम्य पार्ने राउतको प्रयास तत्कालका लागि रोकिएको उनको भनाइ छ। 

‘रञ्जिताजीले आफूसँग एकता गर्न भन्नुुहुन्छ, रेशमजीले रञ्जिता छोडेर एकता गरौँ भन्नुहुन्छ, रेशमजीलाई मात्र ल्याऔँ भने वैधानिक केही छैन। रञ्जिताजीलाई मात्र ल्याऔँ भने सांसद र केही मेयर त आउलान्, कार्यकर्ता आउँदैनन्। यो दुईवटा नमिलाई एकता गाह्रो छ,’ जनमतका अर्का पदाधिकारीले भने।

यद्यपि, नागरिक उन्मुक्तिसँग एकता गर्ने कुराबाट पछि नहटेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवको भनाइ छ। 

सचिवालय सदस्यको नामै दिएनन्
त्यसो त वैशाख १७ गते एकता गर्ने निर्णयमा पुगेका दुई दलले पार्टीको नाम, चुनाव चिह्न, झण्डा र मुख्य तीन पदमा सहमति जुटाएको दाबी गरेका थिए।

संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष राउत, सहअध्यक्ष श्रेष्ठ रहने निश्चित भइसकेको थियो। उनीहरूले नौ बुँदे सहमति नै गरेका थिए।

तर, एकतापछि बन्ने नागरिक जनमत पार्टीको सचिवालयमा रहने संख्याको विषय टुंगो लागे पनि दुवै पार्टीले नाम दिएका थिएनन्।

२५ जनाको सचिवालयमा दुवै पार्टीबाट १२/१२ जना रहने र संरक्षक चौधरी सहित २५ सदस्यीय हुने तय भएको थियो। यस्तै, ५१ सदस्यीय कार्यकारिणी समितिमा दुवै पार्टीबाट २५/२५ जना रहने र एकजना संरक्षक रहने सहमति भएको थियो।

‘रेशमजीले पठाएका पदाधिकारी र कार्यकारिणी समिति सदस्यका् नाम एकलौटी छ। रञ्जिताजीको पक्षको कसैको छँदैछैन। एउटा १२ र अर्काे २५ जनामा। त्यही लिस्टका आधारमा एकता गर्दा त रञ्जिताजी छुट्नुहुन्छ,’ जनमतका अर्का पदाधिकारीले रहस्य खोले।

नाउपाका सांसद लालवीर चौधरीले केही समयका लागि एकता नै रोकिएको बताए। अब कहिले हुन्छ, भन्ने अवस्था नरहेको उनको भनाइ छ।

रेशम चौधरीले ०८४ को चुनावपछि मात्र एकता हुने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्। 

‘हामी १ गते सामान्य बैठक बस्दैछौँ। त्यसपछि केही कुरा होला। हामी एकताको लागि सकारात्मक छौँ। जनमतका साथीहरू पनि हुनुहुन्छ होला,’ उनले भने, ‘केही कारणले रोकिएको साँचो हो। हामी जसरी पनि एकता गराउँछौ भन्ने छ।’  

जनमतसँग एकतापछि लिने संख्याका विषयले नाउपाभित्र विवाद रहेको उनी स्वीकार गर्छन्। 

‘सचिवालय र कार्यकारिणी समितिमा पनि कुरा मिलिसकेको थिएन,’ चौधरीले थपे। 

नाउपाले बार्गेनिङ बढाउँदै लगेकोमा जनमतका नेताहरू असन्तुष्ट छन्। 

‘पहिला हामीसँग ६० र ४० को आधारमा एकता गर्ने सहमति भएको हो। पछि फिप्टीफिप्टी भन्नुभयो,’ जनमतका असन्तुष्ट एक नेताले भने, ‘जबकि हामी राष्ट्रिय दल हो। उहाँहरूले थ्रेस होल्ड नै कटाउनुभएको छैन। फेरि, प्रदेशमा पनि उहाँहरूले बढी अधिकार माग्न थाल्नुभयो। तीनवटा प्रदेश माग्नुभयो।’

‘यसले हामीमा संशय पैदा गर्‍यो। यी कुरा मिलिसकेको छैन र तत्कालै मिल्लाजस्तो पनि लाग्दैन। त्यसकारण यो एकता होइन, ‘ए कता’ नै हुन्छ जस्तो छ,’ उनले भने।

रेशम पक्राउपछि दुवै दल शक्ति सञ्चयमा 
रेशम पक्राउको कारणले एकताको प्रक्रिया केही दिन रोकिएको भने पनि यसले शक्ति सञ्चय गर्ने अवसर पाएको नेताहरूको भनाइ छ। पाँच घण्टा डिल्लीबजार कारागारमा बसेर थुनामुक्त भएपछि जनमत र नाउपाले संसदमै सरकारको धारणा मागेको थियो।

‘रेशमजीलाई अझैसम्म आफूमाथि षडयन्त्र भइरहेको लाग्नु स्वाभाविकै हो,’ नाउपाका सांसद लालवीर भन्छन्, ‘यो प्रकरणमा हामीले सरकारसँग आयोग गठनको माग पनि गर्‍यौँ तर, गृहमन्त्री र सभामुखबाट चित्तबुझ्दोे जवाफ आएपछि त्यो आशंका केही हदसम्म अन्त्य भएको छ।’
  
एकता गर्नका लागि गठन गरिएको नाउपातर्फका वार्ता समितिका सदस्य रामलाल डगौरा थारुले राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिले भाँडेको आरोप लगाए। 

‘केही दिनका लागि हामी पछि हटेका छौँ, एकता त हुन्छ,’ थारुले भने, ‘हामी वैचारिक रूपमा व्यापक छलफल गरेर जानुपर्छ भन्ने उद्देश्यका साथ केही दिनको लागि स्थगित गरिएको छ। पार्टीमा असहज परिस्थिति बनेको हो। राजनीतिक र वैचारिक रूपमा सशक्त नभईकन भएन भन्ने पनि हो। नेतृत्व अहिले एक कदम पछि हटेको हो। यो परिस्थिति हाम्रो लागि अनुकूल भएन।’

रेशम फेरि जेल पर्ने भय
नेताहरूका अनुसार रेशमको मुद्दा के हुन्छ भन्ने कुराले पनि एकतामा डराउनुपर्ने अवस्था आएको हो। 

टीकापुर घटनामा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएर थुनामुक्त भएका रेशम चौधरीको सो विरुद्ध परेको मुद्दाको असारमा पेसी छ। 

‘अहिले यो अवस्था हाम्रो लागि अनुकूल छैन। अनुकूल कहिले होला त भन्दा सत्तासँग जोडिन्छ। अहिले हामी पार्टी एकता गरौला, भोलि खेल्ने ठाउँ कहाँ हुन्छ त? निर्वाचन आयोगमा हुन्छ। हाम्रो पनि समस्या छ। टीकापुर घटनाको छिनोफानो लागेको छैन। अब हाम्रो जनमत पार्टीको लिडरको पनि केही समस्या छन्। त्यही भएर यो अनुकूल समय छैन। परिस्थिति कसरी परिवर्तन होला, त्यसबेला परीक्षण गरौँला,’ नाउपा नेता डगौराले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad