राजनीति


संकटमा स्थानीय तहको कामले संघीयताको औचित्य पुष्टि भयो : पौडेल

संकटमा स्थानीय तहको कामले संघीयताको औचित्य पुष्टि भयो : पौडेल

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ९:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताएका छन्।

उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए। नेता पौडेलले स्थानीय तहले क्वारेन्टाइन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिनेजस्ता काम गरेकामा प्रशंसा गर्दै स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षमता देखाउन सक्ने पनि स्पष्ट पारेका छन्।

वरिष्ठ नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत अहिलेको विषम परिस्थितिमा सरकारले केही राम्रा काम गरेको भए पनि पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको आरोप लगाउँदै उनले संकटका बेलामा राज्यको भूमिका खड्किएको आमनागरिकले महसुस गरेको दावी गरे।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा आत्तिनुपर्ने अवस्था नभएको भन्दै उहाँले संयमित भई आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आमनागरिकलाई आपिल गरे।

अनियमितताबारे छानविनको माग
वरिष्ठ नेता पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा देखिएको भनिएको अनियमितताको छानविन गर्न माग गरेका छन्। उनले सरकार स्वास्थ्य सामग्री खरिदमा भएको देखिएको भ्रष्टाचार ढाकछोप गर्न लागेको आशंका गर्दै भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि तत्काल छानबिन गरी कारबाहीको माग गरेका हुन्।

नेपाली सेनाले गर्ने खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको उनको आरोप छ। उनले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन नेपाल सरकारले पर्याप्त तयारीमा नलागेको भनी प्रश्न गरे।

समयमै विदेशबाट आएकाको पहिचान नहुँदा त्रास
कोरोना भाइरस संक्रमण फैलिएका मुलुकबाट आएका नेपाली नागरिकको पहिचान गर्न नसकेका कारण आमनागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफूलाई पु¥याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई संकटमा सहयोग गर्न उनले अपिल गरेका छन्। नेता पौडेलले आमनेपाली कांग्रेसका कार्यकर्तालाई स्थानीयस्तरमा आफैँ निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिए।

अहिलेको विषम परिस्थितिले विश्वमा हराउँदै गएको मानवीयता र वातावरण विरोधी विकासको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको नेता पौडेलको भनाइ छ। विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव–मानवबीचको सद्भाव र मानवीयता देखाउने अवसर मिलेको बताउँदै नेता पौडेलले विश्वले अब विकासको अहिलेको मोडेल परिवर्तन गरी प्रकृतिमैत्री विकासको मोडेललाई आगाडि बढाउन लाग्नुपर्ने बेला आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .