राजनीति


गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १७:५, गलकोट (बागलुङ)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। उनले राजनीतिक दलहरू सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गरे।

‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए। उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए।

‘सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ’, अध्यक्ष केसीले भने, ‘राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्टा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरु सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ।’

सङ्घीयता खर्चिलो भएको उल्लेख गर्दै अध्यक्ष केसीले यसलाई नेपालको अर्थतन्त्रले नथेग्ने बताए। उनले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताए। अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउनसक्ने बताए।

‘नेता मात्रै हैन जनतासमेत सचेत हुन आवश्यक छ, भ्रष्टचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्’, अध्यक्ष केसीले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad