नेपाल विद्युत् प्राधिकारणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी थियो– प्राधिकरण नाफामा छ। तर, प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरे। उनले ५ अर्ब २६ करोड रूपैयाँ नोक्सानी देखाए। त्यसपछि यतिखेर सर्वत्र उठिरहेको प्रश्न हो– के कुलमानले देखाएको नाफा कागजी मात्रै हो त?
घिसिङ यो श्वेतपत्र आफूलाई बदनाम गराउने नाममा जनतालाई भ्रम छर्ने हिसाबले ल्याइएको दाबी गर्छन्।
‘यो नियतवश ल्याइएको श्वेतपत्र हो ,जनतालाई भ्रम छर्न ल्याइएको हो,’ नेपालखबर ‘तत्कालै’ मा कुलमान घिसिङले सोमबार साँझ भने, ‘यो कसले प्रमाणित गरेको डकुमेन्ट हो र? कर तिर्न नपरोस् भनेर प्राधिकरणले ५ अर्ब घाटा देखायो होला तर अर्कै प्रयोजनका लागि भयो। अर्को गम्भीर कुरा के छ भने अडिट रिपोर्टमा हुँदै नभएको ७ अर्ब १९ करोड खर्च लेखांकन नै नगरेको यो ०८०/०८१ आर्थिक वर्षमा, ४ अर्ब ७२ करोड रूपैयाँ बढी आम्दानी बाँधेको रे। १२ अर्बको कुरा आयो यहाँ। कहाँ छ भनेर अडिटरलाई सोध्दा त कहीँ पनि छैन। मनगढन्ते रूपमा यस्ता कुरा लेख्न पाइन्छ भन्या? महालेखाले गरेको अडिटलाई चुनौती दिने हिसाबले लेख्न पाइन्छ? यो त उहाँहलाई छानविन गर्नुपर्छ। जनतालाई गलत सन्देश दिने हिसाबले यस्तो चिज लेख्ने?’
यो श्वेतपत्र मन्त्रालयबाट तयार भएको र प्राधिकरणबाट वाचन गरिएको उनको आरोप छ।
‘प्राधिकरणभित्र एउटा कमिटी बन्यो, त्यो कमिटीले एउटा रिपोर्ट दियो तर त्यो रिपोर्टमा यस्तो केही पनि छैन,’ उनले भने, ‘यो रिपोर्ट फेब्रिकेसन भएर मन्त्रालयबाट आयो, उहाँले त्यही वाचन गर्नुभयो। मलाई गलत देखाउने नाममा यो देशमा आशाको दियोको रूपमा लिइएको उर्जा क्षेत्रलाई निभाउन खोजिएको छ। लगानीको वातावरण निमिट्यान्न पार्ने र देशलाई अप्ठ्यारोमा पार्ने काम भएको छ।’

विद्युत् प्राधिकरणको पूर्वएमडीलाई बदनाम गर्ने नाममा देशलाई अप्ठ्यारो पार्ने काम भएको उनको दाबी छ।
‘यो गम्भीर र आपत्तिजनक कुरा हो। किनभने तपाईं विद्युत् प्राधिकरणको वित्तीय अवस्था ठिक छैन, टाट पल्टिन लागेको छ भन्दा ककसलाई फाइदा हुन्छ, थाहा छ?’ उनले प्रश्न गरे, ‘संकट देखाउँदा क–कसले खेल्छ? अब बैंकले कसरी लगानी गर्छ? लोडसेडिङ हुँदैछ भनेपछि इन्भर्टर, ब्याट्रीको व्यापार बढ्छ। संकट देखाएर विभिन्न मान्छेलाई फाइदा गराउने र नाजायज काम गर्ने अवस्था सिर्जना गरिँदैछ। एउटा व्यक्तिलाई गलत देखाउने नाममा राष्ट्रघाती काम गर्न खोजिँदैछ।’
श्वेतपत्रले जनतामा कहाँकहाँ कसरी भ्रम छर्न खोज्यो, उनले तथ्यांक अघि सारे।
‘त्यो श्वेतपत्रमा देखाइएको घाटा होइन,’ श्वेतपत्रबारे उनले भने, ‘सञ्चित नाफा ४६ अर्ब ४७ करोड प्रष्टसँग भनेको छ तर घाटामा छ भनेर कन्फ्युजन सिर्जना गर्न खोजिएको छ। मान्छेलाई कन्फ्युज्ड गर्नलाई हुँदै नभएको कुरा ल्याउनुभएको छ। कर ऐनअनुसार थप ह्रासकट्टीसहित गर्दा ५ अर्ब ६६ करोड घाटामै छ भनेर भनिएको छ। यो भ्रामक सूचना हो।’
‘पहिलो कुरा, हाम्रो नाफा ४६ अर्ब ४७ करोड प्रस्ट छ। म आउँदाखेरी ०७२/०७३ सम्म ३५ अर्ब घाटा थियो, त्यसलाई हामीले पूर्ति गर्यौँ,’ उनले लगत्तै थपे, ‘०७६/०७७ आवसम्म कर कार्यालयबाट पूरा अडिट भएको छ। त्यतिबेलासम्म ८ अर्ब नाफा छ, त्यसको तीन अर्ब कर तिर्नुपर्छ भनेर भनिएको छ। त्यसपछिका ४ वर्षमा १०–१० अर्बले पनि नाफा ४८ अर्ब त आइहाल्छ। कर कार्यालयको हिसाबअनुसार पनि ठ्याक्कै मिल्छ। कर कार्यालयले ५ अर्ब घाटा हुन्छ भनेर कहाँ बोलेको छ?’
करको अडिटलाई नाफानोक्सानमा गणना गर्न नमिल्ने उनको तर्क छ।
‘किनभने त्यहाँ ह्रासकट्टीको कुरा छ,’ घिसिङले भने, ‘उहाँहरूले अहिले ल्याएको पाँच अर्बको घाटा भनेको ह्रासकट्टीको कारणले मात्रै छैन, ०६७ सालमा भएको प्राधिकरणको २७ अर्बको घाटालाई हटाएर इक्विटीमा माइनसमा गरेको थियो। ०६७ देखि ०७२ सम्म फेरि ३५ अर्बको घाटा आएको थियो। तर, त्यो ०६७ सम्मको ‘राइट अप’लाई पनि उहाँले हाम्रो घाटै हो भन्ने देखाएर जोडेर ६२ अर्ब घाटा हो भनेर देखाइएको छ। अनि हाम्रो ८२ अर्बको नाफाबाट ६२ अर्ब पनि घटायो, ह्रासकट्टी पनि बढायो, अनि त्यो गर्दा ५ अर्ब घाटा भनेर देखाउन खोजिएको छ।’
घिसिङले कर कार्यालयलाई ११ अर्ब अग्रिम करसमेत बुझाइसकेको बताए।
‘कर कार्यालयले पनि तिम्रो २७ अर्ब पनि होइन, ८ अर्ब पहिल्यै नाफा छ, कर वृद्धि गरिसकेको अवस्था छ भनेर भनेको छ,’ उनले भने, ‘अर्को कुरा हामीले कर आउँछ भनेर साढे ११ अर्ब रूपैयाँ रकम एडभान्स ट्याक्समा बुझाइसकेका छौँ। त्यो किन बुझाएको हो भने अहिले ४६–४७ अर्बको जुन नाफा छ, त्यसको २०–२२ प्रतिशतले हिसाब गर्यो भने १० अर्ब जति आउँछ, अलिकति जरिवाना पर्यो भने ११ अर्ब पुग्छ भनेर कर बुझाइसकेका छौँ। भनेपछि यो नाफा नोक्सानको हिसाबमा यो आउँदै आउँदैन। यो महालेखाले भन्दैन, कसैले पनि भन्दैन।’

हामीले सोध्यौँ– ‘त्यसोभए खातामा नाफा देखिए पनि नगद प्रवाह भएन भन्ने छ नि?’
‘नगद र नाफामा फरक छ,’ जवाफमा उनले भने, ‘नाफा भएर पनि नगद नहुनसक्छ, नगद भएर पनि नाफा हुनसक्छ। विगत ८ वर्षमा मेरो कार्याकालमा एक खर्ब ६८ अर्बको लगानी प्रसारण लाइन, वितरण लाइनदेखि लिएर जेनेरेसनमा भएको छ। सरकारले छुट्टै डेढ सय अर्ब गरेको छ। त्यो लगानी भएर सम्पत्तिमा परिणत भइसक्यो। ८ वर्षअघि २ सय ११ अर्बको सम्पत्ति थियो, अहिले ६ सय ४४ अर्बको सम्पत्ति छ। त्यो लगानी गरेर आएको हो नि। नगद लगानी भइसक्यो। हामीसँग जति नाफा भन्यो, त्यति नै नगद हुँदैन।’
लगत्तै उनले थपे, ‘एक समय हामीसँग ५० अर्बसम्म नगद पनि थियो। तर, विस्तारै नेपाल सरकारले जसरी ५ प्रतिशत ब्याजमा बजेट भनेर जुन ऋण दिन्थ्यो, त्यो घट्दै गयो। विगत ४–५ वर्षयता ४–५ अर्ब पनि नआउने अवस्था आयो। त्यो नआएपछि हाम्रो नगदबाट कभर गर्नुपर्यो नि। काउन्टरपार्ट फन्डदेखि विभिन्न प्रोजेक्टहरू छन्, त्यहाँ सबै लगानी गर्नुपर्छ। ’
अहिलेका कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण चलाउन कि सरकारले ऋण दिनुपर्यो या विद्युत् महसुल बढाउनुपर्ने तर्क गरिरहेका छन्। घिसिङ भने अहिले प्राधिकरणसँग भएको रकम पर्याप्त भएको दाबी गर्छन्।
‘खासमा हामीसँग नगद पर्याप्त छ,’ उनले भने, ‘उहाँहरूले लेख्नु पनि (श्वेतपत्रमा) भएको छ, मैले छोड्ने बेलामा प्राधिकरणमा १० अर्ब १० करोड नगद छ भनेर। त्यत्रो नगद राख्ने अनि मसँग क्यास छैन भन्ने? त्यस्तो कसरी हुन्छ? हामीले विगत ८ वर्षमा तीनपटक गरेर २५ प्रतिशतले विद्युतको महसुल घटायाँै। अहिले उहाँले कि बढाउनुपर्यो कि ऋण लिनुपर्छ भन्नुभएको छ। अहिले नगद छैन भन्ने कुरा सत्य होइन, जति छ त्यसले व्यवस्थापन हुन्छ।’
‘म जुनबेला एमडी भएर आएको थिएँ, त्यतिबेला तलब खान पैसा पनि बैंकबाट लिनुपर्ने अवस्था थियो,’ उनले थपे, ‘तर, त्यस्तो अवस्थाबाट उठेर हामी खर्बौँ रूपैयाँ नगद संकलन गरेर ५० अर्बसम्म रिजर्भमा राख्ने अवस्थामा पुगेका थियौँ। अहिले त १० अर्ब पैसा छ, तपाईं म्यानेज गर्नुस् न। आम्दानी त दिनका दिन आइरहेकै हुन्छ त। ठुल्ठूला प्रोजेक्टमा लगानी गर्नुपर्ने छ भने बैंकबाट ऋण लिन डराउनुपर्दैन, नियमित अपरेसनकै लागि हामीसँग पैसा छैन भनेर गलत सन्देश दिनुहुँदैन। यत्तिले मज्जासँग चल्छ।’

हामीले घिसिङलाई सोध्यौँ– ‘डेडिकेटेड र ट्रंकलाइन विवादमा तपाईंले सबै उद्योगीका बक्यौता उठाउन खोज्नुभएको थियो तर हालको नेतृत्वले नउठाउला भन्ने शंका छ बजारमा। यति उठाएन भने तपाईं के गर्नुहुन्छ?’
घिसिङले बक्यौता जसरी पनि उठाउनुपर्ने, सरकारले नउठाए जनताले उठाउने बताए।
‘म एमडी भएर आएँ भने अहिले ७ दिनभित्र बक्यौता उठाइदिन्छु। बक्यौता नतिर्नेको लाइन काट्दिएपछि सबै तुरुन्तै आउँछन्,’ उनले भने।
यतिखेर कुलमान राजनीतिमा प्रवेश गर्नेबारे सर्वत्र चासो छ। तर, उनले यसलाई तत्काल रहस्यमै राख्न चाहे।
‘जनताले चाहे भने त्यो बेला सोचौँला। अहिले यसलाई रहस्यमै राखौँ। अहिले हतार छैन,’ उनले भने।
‘रहस्यको पर्दा कहिले उघार्ने त?’
जवाफमा उनले भने, ‘अहिले आवश्यक छैन। जे पनि हुनसक्छ।’
सर्वसाधारणमा यतिखेर एउटा चासो छ, कुलमान हटेपछि लोडसेडिङ हुने त होइन?
उनको जवाफ हेर्नुस् नेपालखबर ‘तत्कालै’मा :
फोटो/भिडिओ : विशाल कार्की/सौगात दाहाल

प्रतिक्रिया