राजनीति


शून्य समयमा एक दर्जन सांसदले उठाए रेशम पक्राउ, तीनकुने घटना छानबिनदेखि विकास निर्माणमा ढिलाइबारे सवाल

शून्य समयमा एक दर्जन सांसदले उठाए रेशम पक्राउ, तीनकुने घटना छानबिनदेखि विकास निर्माणमा ढिलाइबारे सवाल

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १३:१७, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन्।

सो क्रममा सांसद बीना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन्।

सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको पल्कियामाई मन्दिर इतिहासको पहिचान र जीवन्त प्रतीक भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए। त्यसैगरी सांसद शान्ति श्रेष्ठले सडकको अवस्था वर्षामा हिलाम्मे र अरू बेला धुलाम्मे हुने भएकाले वर्षा अगाडि नै बाँकी सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

सांसद सरस्वती बजिमयले पनि वर्षायाम सुरू भएसँगै पहाडी र हिमाली भेगका नागरिकलाई यात्रा गर्दा जोखिम झेल्नुपर्ने भएकाले समयमै सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइन्।

अर्का सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितताप्रति शून्य सहनशीलता अपनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रियामा न्यायिक छानबिनको माग गरे।

सांसद शिशिर खनालले गोङ्गबु बसपार्क क्षेत्रमा साँझपख खुला सडकमा अमर्यादित गतिविधि, रातभरि होहल्ला र यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई लुटपाट हुने गरेको गुनासो बढेकाले सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद शोभा ज्ञवालीले विभिन्न योजनाहरू समयमा सम्पन्न नहुनु र बजेट ‘फ्रिज’ हुने समस्या देखिएकाले ठेक्का लिने निर्माण व्यवसायीहरूको क्षमता र नियत मूल्याङ्कन गरेर मात्रै ठेक्का स्वीकृत गर्नुपर्ने बताइन्। सांसद सन्तोष चालिसेले आउँदो बजेटमा कृषकहरूलाई बजारसँग जोड्न सक्ने व्यवस्था मिलाउन र देशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको बजेट बढाउनुपर्ने सुझाव दिए।

सांसद सरस्वती सुब्बाले दलित भूमिहीनलाई आवास र कृषि भूमिसहितको अधिकार प्रदान गर्न तत्काल संसद्मा भूमि, वन र निकुञ्जसम्बन्धी विधेयक ल्याउन माग गरे। सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं ३ मा नदी कटानका कारण बर्खायाममा गाउँ नै डुब्ने खतरा रहेकाले सम्बन्धित मन्त्रालयको ध्यान पुग्नुपर्ने बताए।

सांसद शान्ति चौधरीले किसानहरूलाई समयमा मल वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइन्। सांसद सरिता भुसालले सिमसार क्षेत्रको उचित विकास र संरक्षण हुन नसक्दा उपेक्षित देखिएकाले सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरिन्।

सांसद सीता मिजारले सङ्घीय संसद् भवन निर्माण आयोजनामा भएको ढिलाइ र सुस्तीले अन्य परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशङ्का उत्पन्न गराएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad